सातौ टोपी दिवस : ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’

सातौ टोपी दिवस : ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’

काठमाडौं, १६ पुस । सातौ टोपी दिवस बुधबार नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । विगत ६ वर्षदेखि अंग्रेजी महिनाको १ जनवरीलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने परम्पराअनुसार टोपी दिवस मनाइएको हो । नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन शिरमा टोपी लगाएर काठमाडौको माइतीघर मण्डलामा भेलाका भएका थिए । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले सकेसम्म नेपाली पोशाक र नभए पनि नेपाली टोपी अनिवार्य लगाएर कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।

सहभागी युवाहरुले नेपाली राष्ट्रिय पोशाक र टोपीसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । टोपी लगाएका पर्यटन व्यवसायीहरुले राष्ट्रिय पहिचान कायम गरौ भन्दै पर्यटकीय नगर ठमेल परिक्रमा गरेका थिए । उनीहरुले दौरा, सुरुवाल, ढाका टोपी र गुन्यो चोलीलाई राष्ट्रिय पोशाक घोषणा गर्न माग गर्दै नयाँ पुस्तालाई नेपाली मौलिकता हस्तान्तरण गर्न पनि माग गरेका थिए ।

टोपी दिवसलाई राष्ट्रिय मान्यता दिन पनि उनीहरुले सरकारसंग माग गरेकाछन् ।