

काठमाडौं, १६ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको तेस्रो दिन संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
पहिलो खेलमा संकटा र पुलिस विहान साढे ११ बजे भिड्नेछन् । आर्मी र थ्री स्टारको खेल दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् । तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् । दुई जित र एक बराबरी खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मीले दुई जित र एक हार व्यहोरेर पाँचौ स्थानमा रहँदै ६ अंक जोडेको छ ।