केरुङ जोड्ने चिनियाँ रेल्वे योजना ‘अनिर्णीत’

केरुङ जोड्ने चिनियाँ रेल्वे योजना ‘अनिर्णीत’

काठमाडौँ । चीनको सिगात्से हुँदै केरुङबाट काठमाडौं ल्याइने रेल्वे योजनाबारे थप परामर्श र द्विपक्षीय बैठक बस्न नसक्दा योजना नै अनिर्णीत बनेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ रेल्वे विभागका पदाधिकारीबीच कात्तिक पहिलो साता काठमाडौंमा सम्पन्न रेल्वे योजना सम्भाव्यता छलफलमा पुस दोस्रो साताभित्रमा अर्को चरणको कुराकानी गर्ने निर्णय भएको थियो । तर, नेपाल सरकारले दोस्रो चरणको छलफलबारे चिनियाँ पक्षलाई खबर दिन नसकेको मन्त्रालयका एक अधिकारीले बताए ।

चिनियाँ पक्षले सन् २०२० भित्रमा सिगात्सेबाट केरुङसम्म विस्तार भइसक्ने चिनियाँ रेल्वे परियोजनालाई नेपाल सरकारको अनुरोधबमोजिम काठमाडौं वा लुम्बिनीसम्म लैजान सकिने जनाएको थियो ।

केरुङ–रसुवागढी हुँदै काठमाडौं र काठमाडौंबाट पोखरा–लुम्बिनीसम्म लगिने भनिएको रेल्वे योजनाको विस्तृत प्रतिवेदन तयार गर्न सघाउने प्रतिबद्धता पनि चिनियाँ पक्षले जनाइसकेको छ । केरुङबाट काठमाडौंसम्मको दूरी १ सय ७४ किलोमिटर छ ।  अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

‘यो योजना अघि बढाउन नेपाल सरकारको निर्णय पर्खाइको अवस्था छ,’ भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रेल्वे विभागका वरिष्ठ डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले कान्तिपुरसँग भने, ‘गत डिसेम्बरमा हुने भनेको संयुक्त समितिको बैठक पनि बस्न सकेको छैन । चर्चामा रहेको यो रेल्वे योजनामा भने खासै प्रगति हुन सकेको छैन ।’