कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमाः यस्तो छ तयारी

कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमाः यस्तो छ तयारी

काठमाडौं, १२ पुस । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । हिजो पार्टी कार्यालय सानेपामा बसेको बैठकले आफ्नो म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो । बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेसको वर्तमान कार्यसमितिको म्याद यही फागुन १९ मा सकिँदैछ । तर कार्यसमितिको म्याद सकिनेवित्तिकै महाधिवेशन गर्न नसक्ने ठहर गर्दै बैठकले विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २० फागुनदेखि लागू हुने गरी एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

बैठकले १४ औं महाधिवेशनको कार्यतालिका पनि बनाएको छ । त्यसअनुसार अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ भने माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ । यो काम वैशाखमा सकिनेछ । कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि ०७७ आश्विन मसान्तसम्म तोकिएको छ । त्यसपछि अधिवेशनहरु सुरु हुनेछन् । बैठकले केन्द्रीय विभाग बढाएर ४७ पुर्याउने प्रस्ताव पास गरेको छ ।

यी हुन् ४७ विभागहरु

१. सङ्गठन विभाग
२. सूचना, संचार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. स्थानीय तह समन्वय विभाग
६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
८. संसदीय मामिला विभाग
९. संवैधानिक तथा कानुन विभाग
१०. पर्यटन विभाग
११. महिला विभाग
१२. तरुण विभाग
१३. विद्यार्थी विभाग
१४. पेशागत तथा बुद्धिजीवि विभाग
१५. शिक्षा विभाग
१६. स्वास्थ्य विभाग
१७. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
१८. उद्योग तथा व्यापार विभाग
१९. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२०. कृषि तथा किसान विभाग
२१. आदिवासी जनजाती विभाग
२२. खेलकुद विभाग
२३. प्राकृतिक श्रोत विभाग
२४. साहित्य, कला तथा संस्कृति विभाग
२५. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
२६. बैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
२७. अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग
२८. दलित विभाग
२९. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३०. मुस्लिम विभाग
३१. वन तथा वातावरण विभाग
३२. तराई मधेश विभाग
३३. वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
३४. पिछडिएको क्षेत्र समन्वय विभाग
३५. विज्ञान तथा सूचना प्रविधि विभाग
३६. भू.पू. सैनिक विभाग
३७. जिल्ला सम्पर्क समिति समन्वय विभाग
३८. अन्य पार्टी सम्पर्क विभाग
३९. आर्थिक नीति तथा योजना विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग
४२. थारु विभाग
४३. आपूर्ति तथा उपभोक्ता विभाग
४४. श्रम विभाग
४५. भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबास एवं मुक्त कमैया समन्वय विभाग
४६. गैर आवासीय नेपाली समन्वय विभाग
४७. पूर्व राष्ट्रसेवक समन्वय विभाग

विधानमा यस्तो विभागहरु २८ वटा मात्र रहने व्यवस्था छ । तर चार वर्ष लामो कार्यकालमा नीति तथा प्रतिष्ठानबाहेक कुनै पनि विभाग गठन भएका छैनन् । बैठकले भ्रातृ संगठन तरुण दलको म्याद पनि ६ महिना थप गर्ने निर्णय गरेको छ । कांग्रेस बैठक २६ मंसिरबाट सुरु भएको हो ।