

काठमाडौं, ११ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव बिजयी भएको छ ।
शुक्रबार भएको खेलमा त्रिभुवन आर्मीले हिमालयन शेर्पा क्लब तथा नेपाल पुलिसले सरस्वती युथ क्लवलाई पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । खेलमा भरत म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । र, आर्मी लिगेको तेस्रो स्थानमा उक्लिएको छ । शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको दशौँ स्थानमा रहेको छ ।
यस्तै दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लवले सरस्वतीलाइ २–० गोल अन्तरले पराजित गर्यो । लिगमा पुलिसको यो पहिलो जित हो । दस खेलाडीमा सिमित पुलिसको जितमा सुमन लामा र भोला सिलवालले गोल गरे । सुमनले ४६ औं मिनेटमा गोल गरेका थिए । विपक्षी रक्षकको गल्तिको फाइदा उठाउँदै प्राप्त पासमा सुमनले गोल गरेका थिए । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका भोलाले ७९औं मिनेटमा गोल गर्दै पुलिसको अग्रतालाई दोब्बर पारे । त्यसअघि पहिलो हाफको इन्ज्युरी समयमा पुलिस १० खेलाडीमा सिमित भएको थियो । दोहोरो पहेलो कार्ड पछि रातो कार्डको सामना गर्दै अन्जन राईले मैदान छाडेपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो । ३ खेलमा पुलिसको ४ अंक पुगेको छ ।