दुर्घटना बढेपछि गाडिको ‘हुट’ हटाउँदै प्रहरी

कावासोती, ११ पौष ।अत्याधिक भारका कारण सवार दुर्घटना बढेपछि ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ ।

पहाडी क्षेत्रमा चल्ने गाडिमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले ‘हुट’ नै हटाएको हो। पहाडी क्षेत्रमा चल्ने सवारीले यात्रुसहित ‘हुट’मा गह्रुँगो सामान बोक्दा दुर्घटनाको जोखिम बढेकोले ‘हुट’हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताए।

बस व्यवसायी र जिप व्यवसायी समितिलाई पत्राचार गरेर सवारीसाधनको न्यूनतम मापदण्ड कायम राख्न पत्राचार गरे पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउने अभियान शुरु गरेको थापाको भनाइ छ। रासस