काठमाडौं, ११ पुस । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको स्रोतले बताएको छ । तर उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनु भएमा भने बैठक सर्ने सम्भावना रहेको बुझिएको छ ।
नेकपा स्रोतकाअनुसार आजै बैठक अघि राजीनामा गर्न लगाएर प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरलाई गराउने तयारी छ । सोहीअनुसार संसद सचिवालयले पनि तयारी गरेको छ । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएमा ठाकुरलाई राष्ट्रपतिबाट शपथ ग्रहण गराएर प्रतिनिधिसभाको अध्यक्षता गराउने तयारी भइरहेको बुझिएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेबारेमा छलफल भइरहेको छ र आज फेरि छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएअनुसार अध्यक्ष दाहाल चितवनमा रहनु भएकाले काठमाडौं आएपछि छलफल हुनेछ ।