

काठमाडौं, १० पुस । विभिन्न प्रलोभनमा पारेर ’बलि’ दिनका लागि एक मोडललाई भारत लैजाँदै गर्दा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलवार उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिनुभयो । मोडल भनिएकी युवतीले आफूलाई बलि दिने योजना बनाएको शंका लागेपछि प्रहरीमा खबर गरेकी थिइन् । पुस ४ गते परिसरमा उजुरी परेपछि प्रहरीको टोलीले मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो । विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएको एसपी सिंहले बताउनुभयो । तान्त्रिक पूजाका सामाग्रीसहित युवतीलाई मोडलिङका लागि आवश्यक सामान कपडा किनाउने बहानामा जोगवनी पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फूलचोक बुढीगंगा १ वाट कोभर्ट अप्रेसनमा रहेको प्रहरीले नियन्त्रणमा लिएको उहाले जानकारी दिनुभयो ।
मुख्य योजनाकार दिलिप पोदारले भारत बिहारको मन्दिरको बा लगायत अन्य व्यक्तिसँग सम्पर्क गरेको देखिएको छ। संलग्न प्रेम माया र कृष्णले ५ लाख रुपैयाँ पाउने लोभमा युवतीलाई भारत लैजाने प्रकृयामा संलग्न भएको देखिएको छ । त्यस्तै परिसरले भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतीय समानसहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २५ टेंगालबाट गुहेश्वरी बस्ने २७ वर्षिय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । त्यस्तै १४ मोटरसाईकल सहित ९ जना चोरका गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।