ए डिभिजन लिग फुटबल : मनाङ मस्र्याङदीको अपराजित यात्रा कायमै

ए डिभिजन लिग फुटबल : मनाङ मस्र्याङदीको अपराजित यात्रा कायमै

काठमाडौं, १० पुस ।सहिद स्मारक ए डिभिजन लिगमा अहिले मनाङ मस्र्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

लगातार तीन खेलमा जित निकाल्दै मनाङ फेरी लिगको शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शुन्य गोल अन्तरले हरायो । मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औं मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए । सका कारण मनाङले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो । दोस्रो हाफमा पनि मनाङले ब्रिगेड ब्याइजलाई दबाव दिएपनि गोल थप्न सकेन । ७४ औं मिनेटमा मनाङ १० खेलाडीमा झर्न पुग्यो । उसका एकराज बुढाथोकीले ब्रिगेड ब्याइजका खेलाडीलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । जारी लिगमा ब्रिगेड ब्याइजको यो दोस्रो हार हो । उसको तीन खेलमा तीन अंक रहेको छ । मनाङको तीन खेलमा नौ अंक भएको छ । मनाङ फेरी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

यस्तै संकटा क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले जावलाखेलसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा संकटाले बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । संकटा पहिलो खेलमा च्यासलसँग पराजित भएको थियो । दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो । पहिलो खेलमा थ्री स्टारसँग बराबरी खेलेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरेको थियो ।