कला सिर्जनाको अवलोकन गर्दै उपराष्ट्रपति पुन

कला सिर्जनाको अवलोकन गर्दै उपराष्ट्रपति पुन

काठमाडौं, १० पुस । सधैँजसो राजनीतिक तथा कूटनीतिक भेटघाटमा व्यस्त उपराष्ट्रपति नन्दबहादुर पुन आज फरक शैलीमा देखिएका छन्।राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारका बीचमा उपराष्ट्रपति पुनले आफूलाई अब्बल कलाकारका रुपमा पुष्टि गरेका छन्

नेपाली कलाकार धर्मराज शाक्य र चिनियाँ कलाकार झेन झोन्गीले सिर्जना गरेका कलाकृतिको बबहरमहलस्थित नेपाल कला परिषद्मा आज उद्घाटन गर्ने क्रममा उपराष्ट्रपति पुनले क्यानाभासमा विभिन्न ब्रस प्रयोग गरी नेपालको चित्रमाथि चन्द्र भएको आकृति निर्माण गरे।

नेपाल अन्तरराष्ट्रिय प्रदर्शनी सङ्घले आयोजना गरेको उक्त प्रदर्शनी यही पुस १४ गतेसम्म जारी रहने छ। नेपाल र चीनको मैत्री सम्बन्धलाई थप निकट बनाउने उद्देश्यले दुवै देशका कलाकारले सम्बन्धित मुलुकका जनजीवन, संस्कृति, परम्परागत सभ्यतालाई कलाकृतिमार्फत उजागर गर्न प्रदर्शनी आयोजना गरिएको हो।

सन् १९५५ अगष्ट १ मा दुवै मुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो।

नेपाली कलाकार शाक्य नाफाका प्राज्ञसमेत हुन्। उनका २४ चित्र र १० मूर्ति प्रदर्शनीमा समावेश गरिएको छ। त्यहाँ राखिएका विभिन्न देवीदेवतासँग सम्बन्धित चित्र र मूर्ति आकर्षक देखिएका छन्।

गणेशको चित्रले अवलोकन गर्न आउने जो कोहीको पनि मन जितेको छ । दुवै देशको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्न प्रदर्शनी उपयोगी हुने प्राज्ञ शाक्यले बताए।

त्यसैगरी चिनियाँ कलाकार झेन चीनको हवाई कला विश्वविद्यालयका डीन हुन्। दुई लाख ४० हजार वर्ग फिटमा फैलिएको उक्त विश्वविद्यालय विश्वमा चित्रकला सिक्नेका लागि उर्वर स्थान मानिन्छ। उनले बनाएका चिनियाँ जीवनशैली, प्राचीन सभ्यता, संस्कृतिसँग सम्बन्धित छन्।

झेनले सन् २०१६ मा पहिलो पटक नेपाल आउँदा यहाँको विविधताका साथै रमणीयस्थलबाट आनन्द लिएको अनुभव सुनाउँदै आफ्ना सिर्जनालाई नेपालमा प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए। उनको कलामा विशेषपत्रमा सिसाकलम प्रयोग गरिएको छ।

प्रदर्शनीमा राससका अध्यक्ष श्यामलले प्रदर्शनीले दुवै देशको संस्कृतिलाई एकापसमा अध्ययन गर्न सहयोग पुर्याउने बताए। उनले भने, “कलाकार झेनको चित्रमा मधुरोपना छ, यसलाई बुझ्न एकाग्रताका खाँचो हुन्छ। निकै दक्ष कलाकारले लामो अनुभवलाई सङ्ग्रह गरेपछि मात्र यस्तो चित्र सिर्जना हुन्छ।”

सामाजिक रुपान्तरणका लागि कला सशक्त माध्यम भएकाले हाम्रा सम्पदा र संस्कृतिलाई संरक्षण गर्नुपर्ने सुझाव नाफाका कुलपति कर्माचार्यले दिए।

उक्त कार्यक्रममा वरिष्ठ कलाकार कालु कुमाले, पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सम्पदा संरक्षण अभियानकर्मी दुर्गा विसुराल, चिनियाँ कलाकार झेन र दोभाषे सुहाउलाई समेत सम्मान गरिएको थियो।