गोकर्ण रिसोर्टको म्याद थप कानुनसम्मत नै थपिएकाे हाे: उपप्रधानमन्त्री पोखरेल

गोकर्ण रिसोर्टको म्याद थप कानुनसम्मत नै थपिएकाे हाे: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १० पुस । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको स्पस्टोक्ति दिनुभएको छ ।

राष्ट्रियसभाको बिहिबारको बैठकमा सांसदहरुले उठाएका बिभिन्न जिज्ञासाको जवाफ दिदै उपप्रधानमन्त्री पोखरेलले बाहिर बहसमा ल्याइएजस्तो उक्त सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको जिकिर गर्नुभयो । नेपाल ट्रष्टको कार्यालय र रिसोर्ट सञ्चालक कम्पनी यति होल्डिङ्ग्सबीचको सम्झौता अवधि पाँच वर्ष बाँकी रहेको अवस्थामा रिसोर्टले लगानीसहित नयाँ संरचना बनाउन थालेकाले उसको मागबमोजिम सरकारले ५० वर्षका लागि नवीकरणको निर्णय गरेको थियो । उक्त कम्पनीसँग शुरुमा २०६६ वैशाख ५ मा सम्झौता भएको थियो । ट्रष्टको २०७० माघ २६ को निर्णयबाट लिज सम्झौता नवीकरणको निर्णय भएको थियो । ट्रष्टको ऐनमा प्रधानमन्त्रीले तोकेको मन्त्री ट्रष्टको अध्यक्ष हुन सक्ने कानूनी प्रावधानअनुसार आफू ट्रष्टको अध्यक्ष भएको स्पष्ट गर्दै उहाले यसमा यथार्थ र तथ्यहरु बुझेर कुरा आओस् भन्ने चाहेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले ट्रष्टले सम्झौता पुनरावालोकनका लागि गठन गरेको कार्यदलको प्रतिवेदनका आधारमा मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिएको बताउनुभयो ।

उहाले चार्टर एकाउन्टेन्ट संस्था, नेपाल पर्यटन बोर्ड र गोकर्णेश्वर नगरपालिकासँगसमेत फेयर मार्केट भ्याल्यु मूल्याङ्कन तथा वातावरणीय पक्षबारे जानकारी लिइएको पनि स्पष्ट पार्नुभयो । पुरानो सम्झौताअनुसार बाँकी पाँच वर्षको अवधिमा थप साढे चार करोड ८३ हजार रकम आउने र यसबाट अप्रत्यक्ष लाभका रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र सम्पतिको संरक्षण हुने उहाले बताउनुभयो ।