

काठमाडौं, १० पुस । खण्डग्रास सूर्यग्रहण जारी छ। नेपालमा बिहान ८ः४२ मा सुरु भएको ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ। बिहान ११ः३१ मा ग्रहण सकिने छ।
सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको हुनेछ। पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ। ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
अंग्रेजी क्यालेण्डर बमोजिम आज लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हुनेछ । नेपालबाट अवलोकन गर्दा सूर्यको केही भागमात्रै ढाकिएको हुनाले खण्डग्रास मात्र देखिनेछ । ग्रहणको समयमा नेपालबाट करीब १० बजे सूर्यको करीब ४० प्रतिशत भाग ढाकिएको देखिने एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । सोसाइटीले ग्रहणको समय तीन घण्टा ३० मिनेट रहेको जनाएको छ । तर ज्योतिष परिषद्ले भने दुई घण्टा ४९ मिनेट मात्रै हुने जनाएको छ । सामान्यतया चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पर्दा सूर्यग्रहण लाग्छ ।
पृथ्वी र चन्द्रमाले सूर्यको परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको ठीक बीचमा पर्ने संयोग नै सूर्यग्रहण हो । अर्थात चन्द्रमा बीचमा परेको बेला सूर्य चन्द्रमाले छेक्न पुग्दा पृथ्वीमा छायाँ बन्न जान्छ । र छायाँ बनेको पृथ्वीको धरातलमा सूर्य छेकिन गएको देखिने अवस्थालाई सूर्यमा ग्रहण लागेको भनिन्छ । खण्डग्रास र खग्रास सूर्यग्रहण देखिनुमा विभिन्न तत्वले काम गरेको हुन्छ ।
चन्द्रमा र पृथ्वीले आफ्नो अक्षमा घुम्ने क्रममा प्रत्येक १८ महिनामा पृथ्वीको कुनै न कुनै भागमा सूर्यग्रहण लागेको देखिन्छ । नेपालबाट सूर्यको खण्ड परेको भाग मात्रै देखिने हुँदा यसपटकको ग्रहणलाई वलय सूर्य ग्रहण भनिएको हो । नेपालबाट ‘रिङ्ग अफ फायर’को आकारमा सूर्य देखिन्न । तर यूरोप, एसिया, अष्ट्रेलिया र अफ्रिकाको केही भागबाट भने सूर्य उक्त आकारमा देखिनेछ ।