गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गाको विवाद स्पष्ट पार्न सांसदकाे माग

गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गाको विवाद स्पष्ट पार्न सांसदकाे  माग

काठमाडौं, ७ पुस ।  राष्ट्रियसभाको सोमबारको बैठकमा गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गाको विवाद स्पष्ट पार्न सत्तारुढ सांसदले माग गरेकाछन् ।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले गोकर्ण र दरबारर्मास्थित नेपाल ट्रष्टको जग्गासम्बन्धी विवादबारे स्पष्ट पार्न सरकारलाई आग्रह गर्नुभयो ।

काँग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सीमा विवाद समाधानका सन्दर्भमा भइरहेको प्रयासबारे संसद्लाई जानकारी गराउन माग गर्नुभयो । सांसद कोमल वलीले भौतिक पूर्वाधारलगायत राष्ट्रिय गौरवका आयोजना प्रभावकारीरूपमा अगाडि बढाइरहेको भन्दै सरकारको प्रशंसा गर्नुभयो । उहाँले हालै सम्पन्न दक्षिण एशियाली खेलकुद (साग) मा विजयी नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेर खेलाडीको आत्मबल बढाएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको जग्गा भाडामा दिँदा अनियमिता भएको विषय सार्वजनिक भइरहेकाले सरकारका तर्फबाट स्पष्ट जवाफको माग गर्नुभयो । सांसद बिमला राई पौडेलले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ पेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गर्नुभएको हो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ टेबुल गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही पुस १० गते बिहान ११ बजे बस्ने छ ।