

काठमाडौं, ५ पुस । संकटा क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए । जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ । संकटा पहिलो खेलमा च्यासलसँग २–० ले पराजित भएको थियो । एनआरटीको यो पहिलो हार हो । पहिलो खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
त्यसअघि शनिबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेल क्लवले पहिलो जित निकालेको छ । जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गरे । उनले खेलको १० औं मिनेटमा गोल गरे । जितसँगै जावलाखेलले २ खेलमा ४ अंक जोडेको छ । सरस्वतीको भने लगातार दोस्रो हार हो ।