काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्रलाई

काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्रलाई

काठमाडौं, ५ पुस ।  काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको प्रतियोगितामा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् । उनले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । आर्मीकै ज्ञान प्रसाद भट्टराई तेस्रो भए । यता,म्याराथनको महिलातर्फको उपाधि सशस्त्र प्रहरी क्लबकी कान्छीमाया कोजुले जितेकी छिन् । निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै उनले उपाधि जितेकी हुन् । योसँगै कान्छीमायाले काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् । समग्रमा उनको यो पाँचौ उपाधि हो । कान्छीमायाले यस अघिका दुई संस्करण समेत जितेकी छन् । महिलातर्फ आर्मीकी सरिता बासी दोस्रो र निर्जला ताम्राकार तेस्रो भईन् ।

विजेता नरेन्द्रले ५० हजार रुपैया हात पारे । दोस्रो भएको बेद बहादुर सुनारले २० हजार तथा तेस्रो भएको ज्ञान प्रसाद भट्टराइले १५ हजार रुपैया हात पारे । महिलातर्फ कान्छिले ५० हजार प्राप्त गरिन् ।हाफ म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाउदा राजन रोकाया च्याम्पियन बनेका छन् । हाफ म्याराथनमा राजनले निर्धारित दुरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बने । दोस्रो भएका आर्मीकै हरि कुमार रिमालले १ घन्टा ११ मिनेट १३ सेकेन्डमा दुरी पुरा गरे । आर्मीकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डसहित तेस्रो स्थान हासिल गरे ।

महिलामा आर्मीकी पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा २८ मिनेट ०३ सेकेन्डमा दुरी पार गर्दै उपाधि जितिन् । उनले यसअघि गत मंसिरमा आयोजना भएको धारा नेपालगन्ज म्याराथनमा पनि च्याम्पियन बनेकी थिइन् । आर्मीकै सानुमाया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् । नेपाल पुलिसकी रेखा विष्टले १ घन्टा ११ मिनेट ४० सेकेन्डसहित तेस्रो स्थान हासिल गरिन् ।

हाफ म्याराथनतर्फको महिला र पुरुष दुवैतर्फका विजेताले समान २० हजार , दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरे ।त्यस्तै ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनेकी छन् । विभागीय नेपाल एपीएफ क्लबका अजितले १७ मिनेट १९ दशमलव ९१ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । महिलातर्फ आर्मीकी सरस्वती भट्टराईले निर्धारित दुरी २२ मिनेट ०३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनिन् ।

५ किलोमिटर मास्टर्समा यमी महर्जनले १९ मिनेट १७ दशमलव ०४ सेकेन्डसहित पहिलो भए । भीम गुरुङ २१ मिनेट २६ दशमलव ५० सेकेन्डसहित दोस्रो तथा कपिल थापा २७ मिनेट १९ दशमलव १५ सेकेन्डसहित तेस्रो भए । महिलामा अनु चित्रकार पहिलो भए ।

ह्वीच चेयर पुरुषमा कृष्ण राज चौधरी १५ मिनेट १९ दशमलव ८४ सेकेन्डसहित पहिलो भए । महिलामा यमी झाक्री मगरले २१ मिनेट ०८ दशमलव ७६ सेकेन्डसहित पहिलो भइन् ।