संसद अधिवेशन बस्नुअघि दलहरुको बैठक बस्दै

संसद अधिवेशन बस्नुअघि दलहरुको बैठक बस्दै

काठमाडौं, ४ पुस । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसदको हिउँदे अधिवेशनलाई लिएर मुख्य दलहरुका संसदीय दलको बैठक बस्दै छ । संसदको कार्यसूचीमा आफ्नो भूमिका , सभामुख चयन लगायतका विषयमा छलफल गर्न दलहरुले संसदीय दलको बैठक बोलाएका हुन् । नेकपाले दिउँसो १ बजे बैठक बोलाइएको छ ।

बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कोअपरेसन एमसीसीबीच भएको सन्धी सम्झौता कार्यान्वयन र सभामुख चयनका विषयमा कुराकानी हुनेछ । काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नेकपाभित्रै विवाद भइरहेका बेला सम्झौता कार्यान्वयनका लागि संसदमा आवाज उठाउने नेपाली काँग्रेसले निर्णय गरेको हो ।

आज त्यस विषयमा थप छलफल हुनेछ । सत्तारुढ दल नेकपाभित्र एमसीसीका विषयमा वादप्रतिवाद चलिरहेका बेला काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन आज अपराह्न ४ बजे बस्नेगरी आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९१ को उपधारा ९४० मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ ।

प्रतिनिधिसभा नियमावलीमा भने सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने व्यवस्था छैन। प्रतिनिधिसभा नियमावलीको नियम ९६० को उपनियम ९४० मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ’ भन्ने व्यवस्था छ ।