संसदको हिउँदे अधिवेशन आजदेखि, सभामुख नहुँदा के छ व्यवस्था ?

संसदको हिउँदे अधिवेशन आजदेखि, सभामुख नहुँदा के छ व्यवस्था ?

काठमाडौं, ४ पुस । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनका लागि प्राविधिक र प्रशासनिक तयारी पूरा भएको संसद सचिवालयले जनाएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन आज अपराह्न ४ बजे बस्नेगरी आह्वान गर्नुभएको हो ।

संविधानको धारा ९१ को उपधारा ९४० मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ ।

प्रतिनिधिसभा नियमावलीमा भने सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने व्यवस्था छैन। प्रतिनिधिसभा नियमावलीको नियम ९६० को उपनियम ९४० मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ’ भन्ने व्यवस्था छ ।

हिउँदे अधिवेशनका लागि सरकारले अहिलेसम्म चारओटा विधेयक संसदमा दर्ता गराएको छ । प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक र राष्ट्रियसभामा थाती रहेका चार विधेयक पनि आगामी संसद अधिवेशनबाट पारित गर्ने प्रक्रियामा छन् । हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले नै गर्नेगरी तयारी भइरहेको बुझिएको छ ।

नियमावलीमा सभामुखले संसद बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेपनि अहिले सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले नै बैठकको अध्यक्षता गर्ने सचिवालयले जनाएको हो । उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नु हुने छ । सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ । तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन ।

संविधानअनुसार देहायको कुनै अवस्थामा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछः–

  • निज प्रतिनिधि सभाको सदस्य नरहेमा, तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।
  • निजले लिखित राजीनामा दिएमा,
  • निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।
  • प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधि सभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ ।

सभामुख पद रिक्त भएमा के हुन्छ ?

सभामुख रिक्त भएमा के गर्ने भन्ने व्यवस्था पनि संविधानमा छ । “प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन्,” संविधानमा व्यवस्था छ ।

प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्ने उल्लेख छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा भने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।

उपसभामुखको सक्रियता

१. राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समितिको अध्यक्षता ।

२. राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिका लागि कार्यविधि तय र पदाधिकारीको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय ।

३. संसदीय समितिका सभापतिहरुसँग सभामुखले गर्ने कार्य उपसभामुखले गर्न पाउँछ भनी लिखित सर्मथन दिन माग ।

४.विधेयक प्रमाणीकरणबारे राजनीतिक दल र विज्ञहरुसँग निरन्तर परामर्श ।

५. प्रधानमन्त्रीसँग भेटेरै सभामुख आफुले पाउनुपर्ने प्रस्ताव ।