काठमाडौं, ३ पुस । सिन्धुपाल्चोकका बिभिन्न ठाउँबाट नेकपा र राप्रपा छाडी सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा कांग्रेस प्रबेश गरेकाहरुलाई सभापति शेरबहादुर देउवाले खादा र अबिर लगाएर स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट र अन्य राजनीतिक दलप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै कांग्रेसलाई बिश्वास गरेर पार्टी प्रबेश गरेकाहरुलाई पार्टीभित्र सम्मानजनक स्थान दिइने बताए। नेपालका सबै तानाशाहलाई ठेगान लगाएको कांग्रेसका लागि कम्युनिष्ट सत्ताको रवैयाँ सह्य नहुने भन्दै आगामी निर्बाचनमा कांग्रेसको बहुमत आउने देउवाले दाबी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य बस्नेतले नवप्रवेशीहरुको सम्मान, सुरक्षा र उचित भूमिका दिन आफू सदैब लागि पर्ने प्रतिवद्धता जनाए। कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले कार्यक्षमताका आधारमा नवप्रवेशीहरुलाई पार्टीमा भूमिका दिइने बताए। भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले पार्टीमा एकतावद्ध भएर अघि बढे कांग्रेस कहिल्यौं पराजित नहुने धारणा राखे।
राप्रपाका जिल्ला कोषाध्यक्ष रामकुमार तामाङ(निमा दोर्जे) विप्लवका लिल्ला सचिवालय सदस्य एवं पूर्व जनमुक्ति सनाका प्लाटुन कमाण्डर रेशम पौडेल, युवा संघका पूर्व जिल्ला सचिव विश्वराज गुरुङ, गोरखबहादुर कार्की, शेरबहादुर लामा,युवकध्वज सापकोटालागयत एक सयभन्दा बढी विभिन्न राजनीतिक दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।
कम्युनिष्ट राजनीति लागेवापत जेलनेत विताएका र श्रीमति समेत गुमाएका रमेश पौडेलले कम्युनिष्ट सरकारको कार्यशैलीबाट असन्तुष्ट भएर कांग्रेसमा प्रवेश गरेको बताए।
कार्यक्रममा महासमिति सदस्य हरिशरण श्रेष्ठ,प्रेमध्वज लामा,प्रदेश सांसद निमा लामा,हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालगायतका जिल्ला नेताहरु उपस्थित थिए।