सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना, नेकपा स्थायी समिति बैठक आज पनि बस्दै

सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना, नेकपा स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं, २ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेताहरुले सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना गरेका छन् । बैठकमा बोल्ने सदस्यले शिर्षतहबाटै पार्टी भित्र गुट बढेको भन्दै अन्त्य हुनुपर्ने उनीहरुको माग रहेको छ ।

आजको बैठकमा पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्नेक्रम जारी छ । आज थप १५ जनाले धारणा राख्ने कार्यसूची छ । हिजोसम्म जम्मा २५ जनाले मात्र धारणा प्रस्तुत गरेका छन् ।

४५ सदस्यीय नेकपाको स्थायी समितिमा अझै २० जनाले बोल्न बाँकी छ । नेताको धारणा राख्ने क्रम नसकिएपछि बैठक पुनः आजकालागि डाकिएको छ । नेकपा स्थायी समितिको जारी बैठकमा नेताहरुले पार्टीलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने, सरकारलाई पार्टीको निर्देशन र सिद्धान्तका आधारमा चलाउनुपर्ने तर्क गरेका छन् ।

सरकारले गरेका राम्रा काम पनि जनताको बीचमा प्रचार गर्नुपर्ने स्थायी समिति सदस्यको भनाइ छ । जनताले उठाएका सुशासनका क्षेत्रमा सरकारको ध्यान नपुगेको पनि नेताले बताएका छन् । गुट अन्त्य हुनुपर्ने र पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउनुपर्ने विषयमा समेत सदस्यले जोड दिएको स्थायी समितिका एक सदस्यले जानकारी दिनुभयो ।