

काठमाडौं, २ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ। सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो। याे खबर आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।
स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीभित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ। ‘पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन्। पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेका छन्।
पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा बढ्दै गएको छ। अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन,’ स्थायी कमिटिमा प्रस्तुत प्रतिवेदनमा लेखिएको छ। आफैंले तयार पारेका प्रतिवेदनलाई चुनौती दिँदै दाहाल स्वंयले पूर्वमाओवादी खेमाका नेतालाई निवासमा बोलाएर बैठक गरेको स्रोतले जनाएको छ। यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जानकारी दिइएको छैन। स्वास्थ्यका कारण ओली स्थायी कमिटी बैठकमा उपस्थित भएका छैनन्।
स्थायी कमिटी बैठक सुरु भएको दोस्रो दिन सोमबार बिहान दाहालले आफ्नै निवास पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका थिए। दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वा्रा प्रस्तुत राजनीतिक प्रतिवेदनको मर्म र भावनाविपरीत छ। स्रोतका अनुसार खुमलटार बैठकमा समग्र पार्टी हितमा धारणा राख्ने भनिए पनि सभामुख खोसिने चिन्ता व्यक्त भयोे। यसअघि पूर्वमाओवादी खेमाबाट सभामुख बनाइएको थियो।
सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार आरोपमा राजीनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपामा अनुकूल पात्र खोजी भइरहेको छ। स्थायी कमिटी बैठकमा पूर्वमाओवादी खेमाका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेललगायत १४ जना सहभागी थिए। स्थायी कमिटीमा पूर्वमाओवादीबाट १९ जना छन्।
पार्टी स्थायी कमिटी बैठक जारी रहेकै बेला अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका छन्। दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वा्रा प्रस्तुत राजनीतिक प्रतिवेदनको मर्म र भावनाविपरीत छ।
पूर्वएमाले खेमाका प्रधानमन्त्री ओलीले आफूअनुकूलका व्यक्तिलाई सभामुख बनाउने चर्चा चलिरहेका बेला दाहालले पार्टी स्थायी कमिटीमा प्रतिनिधित्व गर्ने पूर्वमाओवादीका नेतालाई निवासमा बोलाएर छुट्टै बैठक गरेका हुन्। ‘पुस ४ गते प्रतिनिधिसभाको बैठक आह्वान भैसकेको छ। हाम्रो भागमा परेको साभामुख पद कार्यकारी अध्यक्षसँग साटिएको हल्ला चलेपछि अध्यक्षज्यूले त्यसलाई स्पष्ट पार्न बैठक बोलाउनु भएको रहेछ’, खुमलटार बैठकमा सहभागी एक नेताले भने। ती नेताका अनुसार स्थायी कमिटी बैठकमा पनि सभामुखबारे कुरा उठ्ने भएकाले अध्यक्ष दाहालले आफ्ना कुरा राख्न सहज होस् भनेर निवासमा छुट्टै बैठक गरेका हुन्।
खुमलटार बैठकमा नारायणकाजी श्रेष्ठ र राबहादुर थापा भने मौन बसेका थिए। उनीहरुले धारणा राख्दा समग्र पार्टी हितलाई ध्यान दिन जरुरी रहेको मात्रै बताए। स्रोतका अनुसार अन्य सहभागीले भने सभामुख पद नछाड्न दहाललाई दबाब दिए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
स्थायी कमिटी सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि ६ पृष्ठको लिखित धारणा राख्दै नेतृत्वले सही दिशा दिन नसकेको आरोप लगाएका छन्।
खुमलटार बैठकमा सहभागी नेताहरुले दाहालसँग सभामुख पद पूर्वएमालेका लागि छाडिएको हो भन्दै जिज्ञासा राखेका थिए। दाहालले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलमै रहेको प्रतिक्रिया दिएका थिए। बैठकमा प्रत्यक्ष निर्वाचित सांसद र स्थायी कमिटीमा भएकालाई मात्रै सभामुख बनाउनुपर्ने अडान लिन दाहाललाई सुझाइयो। याे खबर आजकाे नागरिक दैनिकबाट लिएका हाैं ।