नेकपा स्थायी कमिटी बैठकभोलि पुन:बस्ने

नेकपा स्थायी कमिटी बैठकभोलि पुन:बस्ने

काठमाडौँ, ३० मङ्सिर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको दोस्रो दिन सोमबार १४ सदस्यहरुले आफ्ना धारणा राखेका छन् । पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने सदस्यहरुले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्न सहमति जनाएका हुन् ।

महाधिवेशन गर्नका लागि केन्द्रिय समितिबाट पास गराई त्यसको तयारीमा लाग्नुपर्ने धारणा पनि सदस्यहरुले राखेका थिए । सोमबारको बैठकमा प्रतिवेदनमाथि योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य तथा बामदेव गौतमलगायत १२ जनाले धारणा राखेका थिए । बैठकमा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले भने प्रतिवेदनमाथि लिखित धारणा राख्नुभएको थियो । प्रत्येक वक्तालाई २० आफ्नो धारणा राख्नको लागि मिनेटको समय दिइएको थियो । त्यस्तै बैठकमा अमेरिकाले अघि सारेको ‘मिलिनियम चालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका कार्यक्रम संसदबाट पारित गर्न नहुने माग उठेको छ । नेपाल सरकार र एमसीसीबीच ५ वर्षअघि भएको झन्डै ५५ अर्ब रुपैयाँको विकास साझेदार योजना संसदले पारित नगर्दा कार्यान्वयनमा आउन सकेको छैन । बैठकमा बोल्दै भीम रावल र देव गुरुङले त्यसलाई पारित गर्न नहुने धारणा राखेको बुझिएको छ ।

त्यस्तै, सदस्यहरुले स्थायी समिति बैठक ढिलो बसेकोमा आलोचनात्मक दृष्टिकोण राखेका थिए । त्यस्तै, स्थायी समिति बैठकमा राष्ट्रियता, स्वाधिनताको विषय पनि जोडतोडका साथ उठेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक मंगलबार ११ बजे पुनः बस्ने छ । बैठक आइतबारबाट सुरु भएको हो ।