पर्यटकलाई लोभ्याउने पाल्पाको काउँलेडाँडाको अम्रिसो

पर्यटकलाई लोभ्याउने पाल्पाको काउँलेडाँडाको अम्रिसो

– कृष्ण दर्नाल

पाल्पा, ३० मङ्सिरनिस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउन सफल बनेको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको छ । यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक रु अम्रिसो खेती हुँदै आएको छ ।

इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ ।व्यावसायिक अम्रिसो खेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिका साथ अम्रिसोको बगानमा टेक्छन् । युवा वनभोज तथा हिमालका सुन्दर दृष्य खिंच्न काउलेडाँडाको अम्रिसो खेतीमा लोभिन्छन् । दैनिक चारदेखि २० समूहसम्मका पर्यटक काउलेडाँडा पुग्छन् । हिमाली सुन्दर दृष्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृष्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीयबासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन सफल बनेको छ ।

डाँडाको वन क्षेत्रको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीयबासिन्दालाई अम्रिसोको फूलबाट दुईचार पैसा हात पनि परेको छ । अम्रिसो खेतीपछि गाईभैंसीपालनप्रति आकर्षण बढ्दो छ । अम्रिसोको पात घाँसका रुपमा प्रयोग हुन्छ । डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ । अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ ।

कबुलियती वन कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाले वार्षिक रु एक करोड बराबरको अम्रिसो जिल्ला बाहिर जाने बताउनुभयो । कबुलियती वन कृषि सहकारीमार्फत आर्थिक कारोबार हुँदै आएको छ । कबुलियती वनमा आबद्ध सदस्यले कृषि सहकारीसमेत सञ्चालन गरेका छन् । “कृषकले अम्रिसोको आम्दानी सहकारी संस्थामा बचत गर्नुका साथै आवश्यकताअनुसार लगानी पनि गर्छन्,” अध्यक्ष पाटाले भन्नुभयो ।

पहाडका पाल्पा, गुल्मी र स्याङ्जा तथा तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका आन्तरिक पर्यटकको यहाँ ओइरो लागेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले २२७ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेतीबाट स्थानीय बासिन्दाको जीवीकोपार्जनमा टेवा पुगेको बताउनुभयो । वन कार्यालयले आव २०६६/०६७ मा काउलेडाँडा कबुलियती वन स्थानीय बासिन्दालाई हस्तान्तरण गरेको थियो । स्थानीय बासिन्दाको अगुवाइमा व्यावसायिक अम्रिसो गरी गरिएको हो । पहिले चरिचरन हुने डाँडा बुट्यानले घेरिएको थियो ।
वनको आर्थिक तथा प्राविधिक सहयोगमा वनमारालगायत कुकाठ फँडानी गरेर अम्रिसो खेती गरी अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो ।

वनको सेवा क्षेत्रभित्र २ सय ५० घरधुरी बसोबास गर्छन् । वन व्यवस्थापनका लागि १९ समूहमा बाँडिएको छ । समूहले वन र अम्रिसोको व्यवस्थापन, बजारीकरण तथा वनको रेखदेख गर्दै आएको छ । स्थानीय बासिन्दाको रेखदेखमा वन सञ्चालनमा आएपछि हरियाली र वन्यजन्तुको सङ्ख्या बढेको हो । वन कार्यालयले ४० वर्षका लागि स्थानीय बासिन्दालाई वन हस्तान्तरण गरेसँगै रोजीरोटी गर्ने बाटो खुलेको हो ।