कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि पुन:बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि पुन:बस्ने

काठमाडौँ, २९ मङ्सिर ।  नेपाली कांग्रेसले भोलि सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले छलफलको एजेन्डा १४ औं महाधिवेशनको कार्यतालिकाबारे हुनुपर्ने अडान राखेर बिहिबारको बैठक बहिष्कार गरेपछि आइतबारका लागि सारिएको बैठक केहीबेर बसेर सोमबारका लागि स्थगित गरिएको हो।

आइतबारकाे बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आफ्नो धारणा राखेका थिए। बैठक सोमबार दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यालयले जनाएको छ। सभापति शेरबहादुर देउवाले बिहिबारको बैठकमा प्रस्तुत गरेका बिभिन्न ९ वटा एजेन्डामा छलफल गर्नका लागि भनेर आइतबारको बैठक डाकिएको भए पनि केही समयमात्र बसेर बैठक स्थगित भएको थियो।

काठमाडौं बाहिर रहेका नेता पौडेल राजधानी फर्किएपछि पुनः सहमतिको प्रयास गरी सोमबारको बैठकमा सबैको सहभागिता गराउने पहल गर्ने बताइएको छ।