नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटि बैठकका लागि ५ एजेण्डा तय

  • 8
    Shares
नेकपा सचिवालय बैठक सकियो,  स्थायी कमिटि बैठकका लागि ५  एजेण्डा तय

काठमाडौं, २९ मंसिर । नेकपा सचिवालय बैठकले स्थायी कमिटि बैठकका लागि बिभिन्न ५ वटा एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदन, बिधान संशोधन प्रस्ताव लगाएतका एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने, बिधान संशोधन प्रस्ताव पेश गरिने, केन्द्रिय कमिटिको अर्को बैठक तय गरिने र त्यो भन्दा अघि नेपाल भारत सीमा समस्याकाबारे छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पनि केहिबेर बैठकमा सहभागी हुनुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार हुदै गएको जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै स्थायी समितिमा प्रचण्डद्वारा पेश हुने राजनीतिक प्रतिवेदनमाथि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा स्थायी कमिटि बैठक आइतबार दिउँसो पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो । यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।