सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं, २९ मंसिर । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको मृत्यु भइसकेकाे र अरु पनि हताहत भएकाे हुनसक्ने बताए।

नेपाल प्रहरीका प्रहरी निरीक्षक गणेश खनालका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आज बिहान सवा ८ बजे दुर्घटना भएको हो। सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ। प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन्।