नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २६ मंसिर । विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।सरकारले भने चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य तय गरेको छ । बिहीबार काठमाडौंमा नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकलसेवा तथा कृषि क्षेत्रको योगदानका कारण नेपालको अर्थतन्त्र द्रुत गतिमा सुधार हुन थालेको जनाएको छ ।

विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्टलगायतको उपक्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको जनाएको छ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्व बैंकले उल्लेख गरेको छ । पछिल्लो समय पर्यटन आगमन बढेको तथा त्यसले सेवा क्षेत्रको विस्तारमा योगदान दिएकाले समग्र आर्थिक विकासमा सुधार आएको विश्व बैंकले जनाएको छ । त्यस्तै गरिबी न्यूनीकरण तथा साझा समृद्धिमा भएको प्रगतिका कारण नेपालको आधारभूत आर्थिक सूचकहरू समग्रमा राम्रो भएको बैंकको भनाई छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा अझै पनि कतिपय तथ्यांक अनुमानको भरमा आउने गरेको बताउनुभयो । खतिवडाले तथ्यांकको बढी विश्वासनिय बनाउन आधार वर्ष परिवर्तन गर्न लागेको जानकारी पनि दिनुभयो ।

विश्व बैंक बिहीबार सार्वजनिक गरेको रिपोटर्स अनुसार बढ्दो व्यापारीकण, मल तथा बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रमा सुधार आएको हो । यति हुँदा हुँदै पनि व्यापार घाटा कम गर्न भने नेपाललाई चुनौती देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।