

काठमाडौँ, २६ मङ्सिर । बिहिबारबाट सुरु नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४७ पुर्याउने प्रस्ताव प्रस्तुत गरिएको छ ।
काग्रेस पार्टी कार्यालय सानेपामा बिहिबार बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको हो । देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ । देउवाको यो प्रस्तावमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको छ । असहमतिकै कारण उनीहरुले बैठक बहिस्कार गरेका छन् । विभागको संख्या थप्ने, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ ।
पौडेल–सिटौला पक्षले बहिस्कार गरे पनि विभागको संख्या बढाउने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई बैठकले बहुमतले पारित गर्न भने सक्छ । बैठकमा देउवाले प्रस्तुत गरेका ९ वटा एजेन्डामध्ये एक तरुण दलको म्याद थपसम्बन्धि छ । तरुण दलको केन्द्रीय समितिले आफ्नो म्याद ६ महिना थप गर्ने निर्णय गरेकोले त्यो प्रस्ताव पारित गर्ने लगाएतका प्रस्ताव पनि बैठकमा पेश भएको काग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकले साग खेलमा नेपाली खेलाडीको प्रदर्शनको प्रसंसा गर्दै खेलाडीहरुलाई बधाइ दिएको छ भने खेल र खेलाडीको बिकासका लागि बिशेष ध्यान राज्यले दिनुपर्ने समेत जनाएको छ । बैठक केहि दिन लम्वने कांग्रेसले जनाएको छ ।