

काठमाडौँ, २६ मङ्सिर । नेपाल प्रेस युनियनको महाधिवेशन निर्धारित समय यही मङ्सिर २८ र २९ गते नहुने भएको छ । युनियनले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय र महत्वपूर्ण सवालका विविध कारणले निर्धारित समयमै महाधिवेशन गर्न असमर्थ भएको जनाएको छ ।
महाधिवेशन तोकिएको विभिन्न समयमा संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको, नेपाल पत्रकार महासङ्घमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि होमिनु परेको, प्रेस र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने कानून विरुद्धमा आन्दोलित हुनुपरेको लगायतका कारणले महाधिवेशन प्रभावित भएको युनियनले आज जनाएको हो ।
युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
अध्यक्ष सिग्देलले अधिवेशन हुन बाँकी रहेका शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न युनियनकर्मीलाई आग्रह गर्दै विविध व्यवधानका बाबजुद केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लोकतन्त्रवादी पत्रकारहरूको साझा र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ [आइएफजे]को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो युनियन । साथै युनियन श्रमजीवी पत्रकार एवं सञ्चारगृहमा कार्यरत कर्मचारीको ट्रेड युनियन हो ।
नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारहरूको साझा र अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । युनियन श्रमजीवी पत्रकार एवं सञ्चागृहमा कार्यरत सम्पूर्ण कर्मचारीको आधिकारीक ट्रेड यूनियन भएको सर्वबिदितै छ । स्थापनाको २८ वर्षमा यो संस्था श्रमजीवी पत्रकारको हकहितका साथै लोकतान्त्रिक आन्दोलन, मानवाधिकार, कानुनी शासन र नागरिकको सूचनाको हक संस्थागत गर्न क्रियाशील रहेको जगजाहेर छ ।
कुनै पनि लोकतान्त्रिक संस्थाको जिवन्तता र संगठनमा नेतृत्व विकासका लागि संगठनभित्र नियमित निर्वाचन आवश्यक मानिन्छ । लोकतन्त्रको प्रमुख आधार मध्येको एक आवधिक निर्वाचनको पक्षमा युनियन रहँदारहँदै पनि निर्धारित समयमै महाधिवेशन गर्न नसक्नु हाम्रो विवेकपूर्ण अपरिहार्य वाध्यता हो । यसबीचमा पटक पटक महाधिवेशन हुन नसकेकोमा भइरहेका टिप्पणीप्रति हामी सचेत र गम्भिर छौँ । यसै सन्दर्भमा यही मंसिर २८ र २९ गतेका लागि निर्धारित नवाैँ महाधिवेशन तोकिएको सीमाभित्रै सम्पन्न गर्न राष्ट्रिय र अत्यन्तै महत्वपूर्ण सवालका कारणले असमर्थ देखिएको छ । म आफै कार्यवाहक अध्यक्ष भएकै अवस्थामा नेपाल प्रेस युनियनको आठौं महाधिवेशन पोखरामा भव्य रुपमा सम्पन्न भएको स्मरण गराउँदै विविध उतारचढावका बीच नवौं महाधिवेशन सम्पन्न गराउन हामी प्रयत्नशील छौँ ।
यसबीचमा नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको थियो । साथै नेपाल पत्रकार महासंघमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि पनि युनियनका साथीहरू होमिनु परेको सत्य हामी सामु छ । परिणामस्वरुप हामीले दुई कार्यकालसम्म गुमाएको पत्रकार महासंघमा नेतृत्वदायी भूमिका स्थापित गर्न सफल भयौं । महासंघका जिल्ला र प्रदेशका संरचनामा पनि हाम्रो उपस्थिति महत्वपूर्ण रह्यो । हामी नवौं महाधिवेशनको तयारीमा जुटिरहेको अवस्थामा वर्तमान कम्युनिष्ट नेतृत्वको दुईतिहाई बहुमतको सरकारले नेपाली प्रेसको घाँटी निमोठ्ने र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका कानुन ल्याउन खोजेको थियो । जसका विरुद्ध सम्पूर्ण लोकतन्त्रवादीहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने अवस्था आइलाग्यो ।
महाधिवेशनकै तयारीमा जुटिरहेका बेला गत मंसिरमा सोही मितिमा नेपाली काँग्रेसको महासमिति बैठक पर्न गएको, त्यसलगत्तै पार्टीले विभिन्न चरणका राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको, पार्टी उपनिर्वाचनमा होमिनु परेकोलगायत परिस्थितिमा हामीले पनि केही जिम्मेवारी बहन गर्नुपरेको यथार्थ छर्लङ्गै छ ।
करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई केही प्रभाव पारेको यथार्थ कतैबाट लुकेको छैन् । अधिवेशन हुन बाँकी रहेका यी शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न साथीहरूलाई आग्रह गर्दछु ।
यी विविध व्यावधानका बाबजुद केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै उल्लेखित विविध कारणले समयमै महाधिवेशन सम्पन्न गर्न नसकिएकोमा केन्द्रीय समितिको तर्फबाट अध्यक्षका हैसियतले क्षमायाचना गर्दछु । समयमै महाधिवेशन हुन नसकेको अवस्थाबाट संगठनप्रति समर्पित, चिन्ता, चासो र सरोकार राख्ने सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद दिँदै महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दछु । अन्त्यमा संगठनको जिवन्तता र सुदृढिकरणका लागि हामीबीचको एकताको विकल्प नरहेको स्पष्ट पार्न चाहन्छु ।
बद्री सिग्देल
(अध्यक्ष)
