काठमाडौं, २२ मंसिर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिन नहुने बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा उहाले राजनीतिक आवरणमा हुने भ्रष्टाचारमा आँखा नचिम्लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुभयो ।
ठुला र साना मछामा विभेद नभइ भ्रष्टाचारलाई निरुत्साहन र सदाचारलाई जीवन पद्धति बनाउनु पर्ने उहाको भनाइ थियो । उहाले भ्रष्टाचारको अन्त्य नभएसम्म सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा नहुने भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एक जुट हुनु पर्ने जिकिर गर्नुभयो । मन्त्री पोखरेलले भ्रष्टाचारबाट टाढै रहने र अरुलाई पनि भ्रष्टाचारबाट टाढै राख्ने संकल्प गर्नुपर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको भन्दै भ्रष्टाचारमुक्त मुलुक बनाउन सबै क्षेत्रको सहकार्य आवश्य रहेको बताउनुभयो ।
यस बर्ष भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य भन्ने नाराकासाथ भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ ।