बैबाहिक जीवनमा बाँधिइन् अभिनेत्री ऋचा

बैबाहिक जीवनमा बाँधिइन् अभिनेत्री ऋचा

काठमाडौं ।अभिनेत्री ऋचा शर्मा शनिबार बैबाहिक जीवनमा बाँधिएकी छन् । प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले बैबाहिक जीवनमा बदलेका हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ ।

दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’ तस्विरमा ऋचा र दिपेक्षलाई खुसी मुद्रामा देख्न सकिन्छ । उनीहरु गएको दुई वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । तर, ऋचाले लामो समय प्रेम सम्बन्ध लुकाएकी थिइन् ।

उनले आफ्नो विवाह समारोहमा सहभागी हुने पाहुनालाई कुनै प्रकारको उपहार नल्याउन निमन्त्रणा कार्डमार्फत् आग्रह गरेकी छन् । विवाह गर्नुभन्दा एक महिना अगाडि ऋचाले पोखरामा आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए । उनका श्रीमान् राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि चलचित्र ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यसको पनि उनले ६ एपिसोडको छायांकन भ्याइसकेकी छन् । अब, उनी एक महिना पारिवारिक भेटघाट र घुमघामका लागि श्रीमानसँग विदेश जाने बताइएको छ ।