साग पुरूष फुटबल : बंगलादेश १-० ले पराजित नेपाल फाइनलमा प्रवेश

साग पुरूष फुटबल : बंगलादेश १-० ले पराजित नेपाल फाइनलमा प्रवेश

काठमाडौं ।  नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरेका थिए । खेलको इन्जुरी समयमा बंगलादेश १० खेलाडीमा समेटिएको थियो । कप्तान जमल भुइयाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा अन्तिम केहि मिनेट बंगलादेशले १० खेलाडीमा खेलेको थियो ।

जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपाल लगातार तेस्रो पटक साग फुटबलको फाइनलमा पुगेको हो ।नेपालले ४ खेलमा १० अंक जोड्यो । बंगलादेशले भने अब तेस्रो स्थानको लागि खेल्नेछ ।

अब नेपालले स्वर्णका लागि भुटानसँग मंसिर २४ गते खेल्नेछ । भुटान समूहको दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । भुटानले ९ अंक जोड्यो ।

नेपाल साविक विजेता समेत हो । नेपालले भारतमा भएको १२ औं सागको उपाधि जितेको थियो ।