राष्ट्रवाणीका दुलाललगायत सञ्चारकर्मीमाथि वडाध्यक्षको आक्रमणप्रति पत्रकार महासंघ र युनियनको आपत्ति

  • 94
    Shares
राष्ट्रवाणीका दुलाललगायत सञ्चारकर्मीमाथि वडाध्यक्षको आक्रमणप्रति पत्रकार महासंघ र युनियनको आपत्ति

काठमाडौँ, २० मंसिर । स्थलगत रिपोर्टिङका लागि घटनास्थलमा पुग्नुभएका राष्ट्रवाणी डट कमका सहसम्पादक एवम् नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य रामचन्द्र दुलाललगायतका पत्रकारहरुको क्यामेरा तोडफोड गरेको गरिएको आक्रमणप्रति संघसंस्थाहरुले घोर आपत्ति जनाएका छन् ।

जनताबाट चुनिएको वडा अध्यक्षले सञ्चारकर्मीको सञ्चार साधन जफत गर्नु कानुनी राज्यको उपहासका साथै लोकतन्त्र र प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको घटना प्रति पत्रकार महासंघ काठमाडौं शाखा र प्रेस युनियनले कडा आपत्ति जनाएका छन् ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचिदानन्द केसीले राष्ट्रवाणी डटकमका सहसम्पादक दुलालसहित आधा दर्जन सञ्चारकर्मीहरु माथि गरेको आक्रमणप्रति पत्रकार महासंघ काठमाडौं शाखाले घोर भर्त्सना व्यक्त गरेको छ ।

मंसिर १२ गते दुई सन्तानकी आमा कविता कार्कीको रहस्यमय निधन भएको र हालसम्म दाहसंस्कार नगरिएको विषयमा वास्तविकता बुझ्नका लागि स्थलगत रिपोर्टिङमा मंसिर १९ गते दिउँसो घटनास्थल पुगेका सञ्चारकर्मीमाथि वडाध्यक्ष सचिदानन्द केसीले आक्रमण गरेका थिए ।

पत्रकारहरुले रिपोटिङ गरिरहेको स्थानमा दलबलसहित आएका केसीले ‘मेरो इलाकामा मेरो निर्देशन विना इलाकामा जे मन लाग्यो त्यही गर्ने ?’ भन्दै पत्रकारमाथि हातपात गरेका थिए ।’

पत्रकार महासंघ काठमाडौं शाखा र प्रेस युनियनले शुक्रबार विज्ञप्तिमा जारी गर्दै सो घटनाको भत्र्सना गरेका छन् । ‘प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई जनप्रतिनिधिजस्तो व्यक्तिले कुन्ठित गर्नु आफैमा दुर्भाग्यपूर्ण विषय हो,’ पत्रकार महासंघ काठमाडौं शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसमाथि कार्यक्रम सञ्चालन गरिरहेका नेपाल पुकार अनलाइन् टिभीका पत्रकार प्रकाशचन्द्र दाहालमाथि हातपात गर्दै माइक खोस्ने, भिडियो खिच्न अवरोध सिर्जना गर्नुका साथै क्यामेरा पर्सन रेशमकुमार माथि आक्रमण गरी घाइते बनाउनुजस्तो कार्यको महासंघ घोर भत्सर्ना व्यक्त गर्दछ।’

स्थलगत रिपोर्टिङका लागि घटनास्थलमा पुगेका पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य तथा राष्ट्रवाणी डट कम अनलाइनका सहसम्पादक रामचन्द्र दुलालको क्यामेरा तोडफोड गरी निज वडा अध्यक्षले जफत गर्नु कानुनी राज्यको उपहासका साथै प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघ काठमाडौं शाखाको निष्कर्ष छ ।

त्यसैगरी संकल्प खबर डट कमका अध्यक्ष एवं पूर्व सञ्चारमन्त्रीका प्रेस सल्लाहकार सिबी खड्कालाई गाली गलौज गर्दै स्वयं वडाध्यक्षले गरेको आक्रमणको घोर निन्दा गर्दै महासंघले छिट्टो अनलाई टिभीका पत्रकारसमेत भागदौड गरेर ज्यान बचाउन सफल भएको भन्ने सुन्दा स्तब्ध भएको जनाएको छ ।

यस्तो तत्लो स्तरको कार्यमा संलग्न वनेपा नगरपालिका वाड नम्बर ६ का वडा अध्यक्षलाई कानून बमोजिम कारबाही गरी प्रेस स्वतन्त्राको रक्षा गर्न महासंघ काठमाडौं शाखाले सरकारसमक्ष जोडदार माग गरेको छ । हाम्रा सहकर्मी दुलाललगायत सञ्चारकर्मीमाथि वडाध्यक्षले गरेको आक्रमणप्रति राष्ट्रवाणी डट कम घोर आपत्ति व्यक्त गर्दछ साथै घटनाको सत्य तथ्य छानविनकालागि माग गर्दै दोषीउपर कारवाहीकोलागि सम्बन्धित निकायलाई अपिल गर्दछ ।

प्रेस स्वतन्त्रतको हनन् भएको भन्दै पत्रकार महासंघ र प्रेस युनियनले विज्ञप्ति मार्फत आपत्ति जनाएका छन् ।