१३ औं सागः आज विभिन्न १७ विधाका खेलहरु हुँदै

१३ औं सागः आज विभिन्न १७ विधाका खेलहरु हुँदै

काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज विभिन्न १७ विधामा खेल हुँदैछ । सागको पाँचौं दिन आज काठमाडौं र पोखरामा गरि १७ खेलमा प्रतिस्पर्धा हुन लागेको हो ।

आजको खेलमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । सागको महिला फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । दिउँसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ । सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ ।

दोस्रो खेलमा श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल र भुटानबीच हुँदैछ । नेपाल र भुटानबीचको खेल अहिले बिहान ९ बजेबाट सुरु हुँदैछ । दोस्रो खेलमा माल्दिभ्सले श्रीलंकाको २३ वर्ष मुनिको टोलीसँग खेल्ने छ ।

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । उसुतर्फ आज १८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष र महिलातर्फ ६–६ (सान्डा –फाइट) हुँदैछ । सुटिङतर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल रहेका छन् । महिलातर्फ थ्री बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राईफल पुरुषतर्फ फाइनल खेल हुँदैछ । एथ्लेटिक्सतर्फ आज विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १४ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा ६ खेलको फाइनल चरणको खेल हुनेछ । पोखरा रंगशालाको कभर्ड हलमा हुने भारोतोलनतर्फ तीन महिला र दुई महिला तर्फ गरि कुल ५ स्पर्धा हुनेछ ।

ह्याण्डबलमा आज लिग चरणका खेल हुनेछन् । समूह ‘ए’ को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासँग खेल्ने छ भने माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसँग खेल्ने छ । यस्तै समूह ‘बी’ तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासँग खेल्ने छ । पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । बास्केटबल आजबाट सुरु हुनेछ ।

आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ । कब्बडीतर्फ दुवै तर्फ आज लिग चरणमा खेल हुनेछ । पोखरामा हुने बिच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछ । पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ आज पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । ब्याडमिन्टनमा बिहिबार नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेलहरु हुनेछ ।

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । सातदोबाटोस्थित टेनिस कोर्टमा आज विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । आर्चरी खेल आजबाट सुरु हुनेछ । तेक्वान्दोतर्फ आज पनि प्रतिस्पर्धा हुनेछ ।