तमसोमा ज्योतिर्गमय

तमसोमा ज्योतिर्गमय

~नारायण श्रेष्ठ~

 

मान्छेको जीवन र नदीमा कुनै समानता छ भने त्यो हो- बहावको उतार-चढाव। कहीं उर्लंदै, कतै सम्हालिँदै तल-तल झर्दै नदी सौम्य समुद्रमा पुग्छ। त्यसरी नै जीवनको यो काया कहिले उकालीमा, कहिले गोरेटोमा, कहिले समथर मैदानमा। थाहा छैन, कुन मोडमा पुगेर स्थुल बन्नेछ! सायद सामाजिक संस्था, राजनीतिक दल र सिंगो देशको जीवनमा पनि यस्तै हुँदो हो– उकाली-ओराली, घाम-छाया।

सेतोपाटीमा लेख्न सुरु गर्दा पहिलो आलेखमा मलाई आफ्नै यात्राको उकाली-ओरालीहरुबाट समेट्न मन लाग्यो। मैले सञ्चालन गरेका कार्यक्रमहरु हेरेर मलाई माया गर्ने प्रियजन, शुभेच्छुक र ईर्ष्या गरेरै भए पनि सम्पर्कमा रहने हजारौं, जो अहिले पनि सामाजिक सञ्जालहरूमा दैनिक दर्जनौंको संख्यामा ‘किन विदेश गएको?’, ‘नेपाल कहिले फर्किने?’ जस्ता प्रश्न सोध्नुहुन्छ, उहाँहरु सबैको जिज्ञासा यसै लेखमार्फत सम्बोधन गर्ने कोसिस गर्दैछु।

आज लेख्न सुरु गर्दा म आफैं भिन्न परिवेशमा छु। बाहिर पुरै हिउँले ढाकिएको छ। चीसोले मुटु कमाउँछ। सडकमा नुनको गन्धले सासै फेर्न गाह्रो हुन्छ। र, म आफैँचाहिँ दशकपछि फेरि विद्यार्थी बनेको छु। दैनिकी यस्तो छ- होमवर्क, प्रिजेन्टेसन अनि क्लास प्रिपरेसन। कुनैदिन त एउटा लेक्चर लिन सय-दुईसय पेज पाठ पढिसिध्याउनु पर्छ। यसमा रमाइलो आफ्नै ठाउँमा छ, रहर जो गरियो। दु:ख त्यहीं छ- न खानको ठेगान, न सुत्नको ठेगान भनेजस्तो। त्यसमाथि थपिने अरु चिज छन्- काम, कमाइ र क्रेडिट। घर दैनिकी चलाउन पर्ने मेसो त आफ्नै ठाउँमा छ, पढिसक्दा लाग्ने ऋण अर्को ठाउँमा।

त्रिशुली नदी किनारको गोरखाको गाउँबाट स्कुले पढाइ सिध्याएर २०५२ सालमा राजधानी छिर्दा साहित्य पढ्ने कत्रो चाहना थियो। एमालेको ९ महिने शासन त्यही बेला आएको थियो। शिक्षामा उत्पात क्रान्ति गर्न उसले त्यो वर्ष एसएलसीमा ‘बोर्ड टेन’ घोषणा गरेन। मेरो स्कुल सकिएको मानक पनि रहेन। एसएलसीको नराम्रै थियो, आफन्तहरूले साइन्स पढ्न हौस्याए। अमृत साइन्स क्याम्पसतिर मोडियो मेरो बाटो। आमा चाहनुहुन्थ्यो- छोरो मास्टर बनोस्, गाउँमै कतै पढाओस्। मचाहिँ बायोलोजीको विद्यार्थी बन्न पुगेँ।

लैनचौरको त्यो अस्कल कति ठूलो लागेको थियो, पहिलो दिन क्लास लिन पुग्दा। भदौ महिनाको दोश्रो हप्ता थियो। आक्कल-झुक्कल पानी दर्किन्थ्यो र पनि गर्मी नै थियो। अग्लो छतबाट तल झुण्डिएको फ्यान सुँइसुँइ घुमिरहेको हुन्थ्यो। धातुजडित ठूलो लोगो क्याम्पसको भित्तामा झुण्डिएको थियो। लेखिएको थियो- तमसो मा ज्योतिर्गमय।

भित्री मनमा साहित्य पढ्ने चाहना। बहिर औपचारिक पढाइ, जीवविज्ञान। अनि रुचि राजनीति। गाउँबाट पढ्न राजधानी छिरेपछिको मेरो अवस्था त्यस्तो थियो। माओवादीले विद्रोह त्यही बेला सुरु गर्‍यो। गाउँमा कि पुलिस आतंक कि माओवादी ज्यादतीका खबरले अखबारका पाना रंगिन्थे। अहिलेका प्रचण्डको जादुमयी स्केच मात्र बाहिर थियो। गरिबको राज्य स्थापना गर्ने सपनाले यस्तो गाँजेको थियो, शिवरात्रिमा लाग्ने गाँजाले पनि त्यति तरंगित बनाउँदैन होला।

घरबेटीले थाहा पाउलान् कि भनेर झ्यालढोका थुनेर जीवन शर्माका क्रान्तिकारी गीत कत्ति सुनियो। पार्टीको काम, चन्दा, राँकेजुलुस, विरोधसभा सबै भ्याइयो। मान्छेलाई भनियो- क्रान्तिको अजेय शक्तिले सर्वहाराको सत्ता आउँछ। कोर्षका किताब दराजमै थन्किए, मार्क्सवाद र

द्वन्द्वात्मक भौतिकवादका दर्शन पो पढियो। कति बुझियो, आफ्नै ठाउँमा छ। पढाइको बाटो त्यसरी मोडियो। क्याम्पसको पढाइ गोली मारियो, राजनीतितिर लागियो। कति मोड आउने रहेछन्। अहिले हेर्छु- सँगै हिँडेका साथी कति मरे, मारिए। कति चाटुकार बने। कति राजनीतिकै खेलो फड्कोका रमाए। जिन्दगीका रंगहरूमा उज्यालो यसरी पनि आउने रहेछ।

हस्तरेखा विज्ञहरू मेरो हत्केला हेर्नेबित्तिकै भन्ने गर्छन्- कति धेरै रेखा! उनीहरू भन्छन्- जति धेरै रेखा, त्यति नै धेरै तरंगित जिन्दगी। भाग्यको त्यही रेखाले होला, केही वर्षपछि राजनीतिको रङले मलाई छोड्यो। पत्रकारिता पढ्नतिर लागेँ। त्यसपछि साहित्यको रङले समात्यो। कविता लेखियो। कुनैबेला यस्तो लाग्थ्यो- म दिनभरि पनि कविता लेखिरहन सक्छु।

कविताका बिम्बहरू कति-कति तरंगित भएर आउँथे, मथिंगलमा। म त्यसलाई भाव दिन्थें। मित्रहरू भन्थे- कविता क्लिष्ट भयो । म सोच्थें- मलाई जे कविता हो जस्तो लाग्छ, त्यही नै लेख्छु. अरुका लागि लेखेको हुँ र? त्यसैबेला कविताका दुई संग्रह पनि बजारमा आए।

आरआरबाट बिए पास गरिसकेपछि म सबैभन्दा ठूलो द्विविधामा परेँ– पत्रकारितामै एमए पढूँ या अंग्रेजी साहित्यमा? मेरो मन थियो- कीर्तिपुरको होस्टेल बसेर अंग्रेजी साहित्य पढूँ। पूर्णकालीन विद्यार्थी बनूँ। बाध्यता अर्कोतिर थियो। भाइबहिनीको पढाइलाई सघाउनु, आफ्नो पढाइ खर्च जोहो गर्नु। त्यसो गर्न काम नगरी सुख थिएन।

रेडियो पत्रकारिताको कामले त्यो सबै धानेको थियो। काम गर्नु नै छ भने पढाइ पनि त्यतैतिरको चालु गर्नु पर्‍यो। सोचेँ- पत्रकारितै पढ्दा भलाइ छ। अनि सुरु भयो, कम्प्रोमाइज्ड पढाइ- एमए इन मास कम्युनिकेसन एन्ड जर्नलिज्म।

हत्केलामा शुक्र लग्नको भाव कम भयो सायद र साहित्य कलाबाट म तानिएँ पुरै पत्रकारितातिर। आरआर क्याम्पस र रेडियो सगरमाथा पत्रकारिता पढ्ने र अभ्यास गर्ने थलो भए। पत्रकारितामा एमए पढी सक्दानसक्दै दोस्रो जनआन्दोलन सुरु भयो। उमेर थियो, जोश थियो, सायद पत्रकार कम आन्दोलनकारी ज्यादा भए हुँला कति समय म, आखिर परिवर्तनको जो चाहना थियो। दिनभरि नारा जुलुसमा हिँडियो, रिपोर्टिङ त त्यहीँबाट भइहाल्थ्यो। राजनीतिक परिवर्तनलाई सघाइयो।

त्यो आन्दोलनपछि राजनीतिक व्यवस्था फेरियो। मेरो काम पनि फेरियो। रेडियो सगरमाथाबाट म पुगेँ, बिबिसीमा। बिबिसीको च्यारिटी विङ त्यसबेलाको बिबिसी वर्ल्ड सर्भिस ट्रष्ट, अहिलेको बिबिसी मिडिया एक्सनमा सुरु भयो काम।

सार्वजनिक छलफल र बहसमार्फत् देशको राजनीतिक परिपाटीमा सर्वसाधारणको पहुँच बढाउनु थियो। कार्यक्रम डिजाइन गरियो। अब नाम छान्नुपर्ने बेला आयो। केही छलफल र सानो सर्वेक्षणपछि नाम छानियो– साझा सवाल। म थिएँ, सञ्चालकको भूमिकामा। त्यसबेला फेरl मैले सम्झिएँ- तमसो मा त्योतिर्गमय। रेडियो र टिभीबाटै राजनीतिक चेतानाको उज्यालो छर्नु थियो।

समय, लागानी र सीपका हिसाबले कति पनि सम्झौता गर्नु नपर्ने पत्रकारिताको मेरो त्यो समय साँच्चै अनुपम थियो। मलाई लाग्छ, मैले साझा सवालबाहेक केही पनि सोचिनँ त्यसबेला। सोच्नुपर्ने पनि थिएन। मेरो तन-मन सबै त्यसमै थियो। कार्यक्रमका लागि लगभग देश चाहारेँ। नेपाली रहेका विदेश पनि पुगेँ। हजारभन्दा धेरै नेता, नीतिनिर्माता र उच्च पदस्थ अधिकारीहरूसँग सवालजवाफ गरेँ। लाखभन्दा बढी नेपालीजनसँग प्रत्यक्ष कुराकानी गरेँ। देशको सबैजसो नदी तरेँ। कति गाउँको चौतारीमा पुगेँ। त्यसपछि मलाई लाग्यो- देशको विकास राजनीतिको वादले होइन, नेतृत्वको इच्छाशक्तिले सम्भव छ। कांग्रेस, कम्युनिस्ट जे पनि हुन सक्छ त्यसको नाम। तर, प्रजातान्त्रिक संस्कार र प्रतिस्पर्धात्मक परिपाटीको जगमा हुनेछ विकास- ढिलो या चाँडो।

कति भेटघाट मैले भुली पनि सकेँ। तर कति भेट यस्ता हुने रहेछन्, जो नभुलिने रहेछ। कुनै एउटा भेटमा नेपालका एक आर्मी अफिसरले सोधेँ, ‘कहाँ पढेको?’

‘आरआर क्याम्पस’, मेरो नियमित जवाफ थियो। अरुहरूले पनि सोधिरहन्थे यस्ता प्रश्न। तर ती अफिसरले पत्याएनन् मेरो जवाफ। भने, ‘बेलायततिर पढेको हुनुपर्छ भन्नठानेको थिएँ।’

यस्तो प्रश्न- कहाँ पढेको? कति पढेको? जस्ता कुरा बेलाबखत आई नै रहन्थ्यो। थाहा छैन, मानिस किन त्यस्तो प्रश्न गर्छन्। तर ती अफिसरसँगको कुराकानीपछि त्यो विषयले मलाई गहिरोगरी छोयो। मानिस किन विदेशी डिग्रीको त्यति धेरै चाह राख्छन्? के नेपालमै पढ्नेसँग त्यस्तो केही क्षमता हुन्न? के फरक हुन्छ त नेपालका हामी अधिकांशले पढ्ने देशको सबैभन्दा धेरै ठूलो त्रिभुवन विश्वविद्यालय र बाहिरको उच्च शिक्षाको पढाइमा? र, ममा फेरि एउटा सपना पलायो- विदेशी विश्वविद्यालयको अध्ययनको। अनि सात वर्षपछि बिबिसी र साझा सवाल छोड्ने निर्णय गरेँ। सँगै कार्यरत साथीहरूले बिदाइ कार्यक्रम आयोजना गरे। कार्यक्रमका शुभेच्छुक शुभचिन्तक केहीसँग भेटघाट भयो। मेरो जिन्दगीको सबभन्दा ऊर्जाशील समय मैले जुन कामका लागि लगानी गरेँ, त्यही ठाउँबाट म टाढिँदै छु भन्ने सोच्दा कता-कता नमिठो पनि लाग्यो। अहिले पनि म भावुक हुन्छु, त्यो क्षण सम्झिँदा।

त्यसपछि हजारौंले सोधे- किन साझा सवाल छोडेको? किन नेपाल छोडेको? अहिले पनि दैनिक दर्जनौं त्यस्ता प्रश्न आउँछ्न्। कतिलाई मैले लेख्न भ्याएँ हुँला, कतिलाई सायद भ्याइनँ।

‘पूर्णकालीन विद्यार्थी बन्ने रहर पूरा गर्न मन थियो, एक दशकपछि फेरि विद्यार्थी भएको छु।’ मेरो जवाफ देखेपछि एसएनभीमा कार्यरत मित्र भावना अधिकारीले लेखिन्, ‘त्यस्तो जोखिम कमैले उठाउँछन्।’

हो, पत्रकारितामा दशकभन्दा बढी व्यावसायिक अभ्यास गरिसकेपछि फेरि विद्यार्थी बन्नु कठिन रहेछ। समय र अभ्यासहरू फेरिइसकेको हुने रहेछ। सोचेँ, छोरो मास्टर बनेको सपना नदेखेको भए मेरा बाआमाले पढाउनुहुन्थेन। साहित्य पढ्ने सपना नदेखेको भए, म राजधानी पुग्ने थिइनँ। टाक्कटुक्क पढ्न नपाएको भए यति धेरैको बीचमा आफ्नो बोली प्रसार गर्न सक्ने म नै कहाँ हुन्थें र! त्यही पढाइको ज्योति हो, जसले मलाई संसारका आयामहरुको अन्दाज दिलायो। र, त्यस्तै सपनाहरूको लहरले आज म यहाँ आइपुगेको हुँ। सम्झँदै छु, कवि सिद्धिचरण श्रेष्ठलाई-

भाग्यको लहरमा लहरी लहरी,
पुगेँ यस मरुस्थलमा म कसरि;
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि।

लेखक अमेरिकाको मेरिल्यान्डस्थित युनिभर्सिटी अफ बाल्टिमोरमा विश्वमामला अध्ययनरत् छन्।