१३औं सागमा आज २० स्वर्ण पदककालागि खेल हुने

१३औं सागमा आज २० स्वर्ण पदककालागि खेल हुने

काठमाडाैं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद अन्तगर्त आज २० स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुँदैछ। आज इण्डाेर भलिबल खेल सम्पन्न हुनेछ। दुईवटा स्वर्णका लागि फाइनल खेल हुँदैछ। पुरुष तर्फको उपाधिका लागि भारत र पाकिस्तान आम्नेसाम्ने हुँदैछन् भने महिला तर्फ नेपाल र भारत प्रतिष्पर्धा गर्दैछन्।

पुरुष तर्फको सेमिफाइनलमा भारतले श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो। त्यस्तै पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। महिलातर्फको उपाधिका लागि नेपाल र भारत प्रतिष्पर्धा गर्नेछन्। समूह चरणको खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल त्यसको बदला लिँदै स्वर्ण जित्ने लक्ष्यमा हुनेछ। महिला भलिबलतर्फको फाइनल दिउँसो चार बजे हुनेछ।

आजदेखि एथलेटिक्सका खेलहरु पनि संचालन हुनेछन्। एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ। एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन्।

यस्तै करातेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ। पुरुषको ६० केजी मुनी, ६७ केजी मुनी र ७५ केजी मुनीको प्रतिष्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनी, ६१ केजी मुनी र ६८ केजी मुनीमा खेल संचालन हुनेछ।

यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ। टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेलहरु सम्पन्न हुनेछन्। ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ।

फुटबलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ। नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ।

महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन्। आजदेखि पुरुष क्रिकेट सुरु हुँदैछ। पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिष्पर्धा हुनेछ। पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन्।

आजदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिष्पर्धा हुँदैछन्। सुटिङमा महिलाको १० मिटर एयर राइफल तथा महिला र पुरुषको थ्री पोजिसन राइफलका खेलहरु सम्पन्न हुनेछन्। लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेलहरु संचालन हुनेछन्। यस्तै गल्फ पनि आजबाट सुरु हुनेछ। कीर्तिपुरमा जारी खोखोमा आज सेमिफाइनलका खेलहरु संचालन हुनेछन्।