एमाले–माओवादी एकताः सत्तास्वार्थको पराकाष्ठा

एमाले–माओवादी एकताः सत्तास्वार्थको पराकाष्ठा

-विश्लेषण–

 

घट्टेकुलोको एउटा चिया पसलमा माओवादीका एक कार्यकर्ता भन्दै थिए– ‘देशको मुहार फेर्न भन्दै १० वर्षसम्म ‘जनयुद्ध’मा होमिइयो, तर आज आएर एमालेको कार्यकर्ता बन्नुपर्यो ।’ माओवादीमा लागेकै कारण आफ्नो परिवार तहसनहस भएको र अहिले आएर नेतृत्वको सत्तास्वार्थका कारण आफूहरू विचल्लीमा परेको उनको गुनासो थियो । डिल्लीबजारको एउटा पत्रिका पसलमा भेटिएका एक एमाले कार्यकर्ताको पनि त्यस्तै खाले प्रतिक्रिया थियो– ‘माओवादीले मेरो बुवा र दाइलाई सुराकीको आरोपमा मार्यो, अब त्यही माओवादीलाई कसरी भोट हाल्न सकिन्छ ? बरु रूखमा भोट हालिन्छ, माओवादीलाई त मरे नि भोट हालिँदैन ।’

यी भनाइ अहिलेको एमाले–माओवादी कार्यकर्ताको प्रतिनिधिमूलक प्रतिक्रिया हुन् । पार्टीका नेताहरूले आफ्नो स्वार्थका लागि जस्तोसुकै काम गरे पनि आफूहरू ल्याप्चे हान्न तयार नहुने प्रतिक्रिया एमाले–माओवादीका कार्यकर्ताले दिएका छन् ।

हिजोका दिनमा एमालेलाई ‘लिंग नछुट्टिएको’ भनेर आरोप लगाउने माओवादी र माओवादीलाई ‘उग्रवामपन्थी’को आरोप लगाउने एमालेले गर्न लागेको चुनावी एकता र पछि गर्ने भनिएको पार्टी एकताको कुराले नेपालमा मात्र नभई संसारभरलाई ‘चकित’ तुल्याएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले पाएको शर्मनाक पराजय र सत्ताका लागि जस्तोसुकै रंग फेर्न सक्ने माओवादी र त्यसका अध्यक्ष प्रचण्डको ‘छेपारो’ प्रवृत्तिले अहिलेको अवस्था आएको भनेर सतही अनुमान गरिए पनि यसको पछाडि यी कारण मात्र काफी नरहेको विश्लेषकहरूको ठम्याइ छ ।

नेपालको राजनीतिमा यसरी आकस्मिक रूपमा देखिने गरेका यस्ता घटनाहरूका पछाडि नेपाली मात्रको हात छ भनेर मान्न राजनीतिशास्त्रमा थोरै मात्र चासो राख्ने कोही पनि व्यक्ति तयार देखिँदैनन् । वाम गठबन्धनका पछाडि उत्तर–दक्षिण वा अझै त्यसभन्दा पनि परका केही शक्तिको हात छ भनेर ठोकुवा गर्न कुनै ठूलै राजनीतिज्ञ आवश्यक पर्दैन । राजनीतिमा चासो राख्ने सामान्य व्यक्तिले पनि ठम्याउन सक्ने विषय हो, यो ।

राजनीतिक विष्लेषक प्रा.डा. सुरेन्द्र केसी यसमा चिनियाँ हात रहेको बताउँछन् । कुनै ठूलो शक्तिको दबाबबाहेक यो एकताको आधार केही नभएको उनको भनाइ छ । माओवादी अध्यक्ष प्रचण्ड चीनको दबाबमा परेका कारण यो अवस्था आएको केसीले बताए । एमाले चीनसँग नजिक हुनु र अन्य शक्ति भारतँग नजिक भएका कारण एमालेले माओवादीलाई आफ्नो हातमा लिएको उनको बुझाइ छ । नेपाली राजनीतिका चतुर खेलाडी मानिएका कमल थापा जसरी नै प्रचण्ड पनि राजनीतिबाट विलीन हुने संकेत देखिएको केसीले बताए ।

कम्युनिस्ट नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे एमाले माओवादी एकतामा भारतको हात रहेको आरोप लगाउँछन् । ‘संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक पर्छ । एमालेलाई संविधान संशोधन प्रक्रियामा ल्याउन भारतले माओवादीसँग एकता गराएको उनको भनाइ छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले एकता गरेर पार्टीको नाम ‘कम्युनिस्ट पार्टी’ राखे पनि त्यो वास्तविक कम्युनिस्ट पार्टी नहुने उनले ठोकुवा गरे ।

त्यसैगरी, अर्का कम्युनिस्ट नेता नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले अहिलेको तालमेल र एकता प्रयासलाई ‘दक्षिणपन्थी र प्रतिक्रियावादी कदम’ भनेका छन् । यो वाम एकताको प्रयास गलत रहेको र यसले देशको राजनीतिलाई केही प्रभाव नपार्ने उनको भनाइ छ । तीन पार्टीहरू दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियाकरणको बाटोमा अघि बढेको उनको आरोप छ । उनले भने, ‘यो गठबन्धन भ्रष्टहरूको सञ्जाल हो, यसले मुलुक र जनताका लागि केही पनि गर्न सक्दैन, तपार्इं लेखेर राख्नुहोस्, यहाँ कोही पनि सच्चा कम्युनिस्ट छैनन् ।’

जुनसुकै धरातलमा निर्माण भएको भए पनि यो गठबन्धनको जग अत्यन्त कमजोर छ । माथिल्लो नेतृत्वले सत्तास्वार्थका लागि बनाएको गठबन्धनबाट दुवै पार्टीका कार्यकर्ता पंक्ति असन्तुष्ट देखिएका छन् । त्यसैले, नेतृत्वले सोचेजस्तै गरी यो गठबन्धनको पक्षमा चुनावी परिणाम आउन मुस्किल छ ।
त्यसो त अहिले दुवै पार्टीका नेताहरू उत्साहका साथ एकता गर्न लागेको देखिए पनि यो एकता दीर्घकालीन रूपमा अघि बढ्न सजिलो नरहेको यसअघिका विभिन्न परिघटनाहरूले पुष्टि गरेका छन् । आफू वा आफ्नो पार्टीको स्वार्थलाई मध्यनजर गरेर गरिएको ‘रणनीतिक एकता’ले दुवै पार्टीको भविष्य खतरामा परेको जानकारहरूको भनाइ छ ।

दुई पार्टीबीच एकता भइहाल्यो भने पनि यो दिगो हुने अवस्था देखिँदैन । यो एकताबाट एक–दुई निर्वाचनमा प्रभाव परे पनि दीर्घकालीन रूपमा यसले देश, लोकतन्त्र र नेपाली कांग्रेसलाई नै फाइदा पुग्ने देखिन्छ । नेपालजस्तो सानो मुलुकका लागि च्याउसरी खुलेका पार्टीहरू आवश्यक छैन । सत्तास्वार्थकै लागि गरिएको भए पनि केही समय यो गठबन्धनले वामपक्षको नेतृत्व गर्ने देखिन्छ भने लोकतन्त्रपक्षधरको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । अबको राजनीति प्रजातान्त्रिक भर्सेज वाम दुई धारमा बाँडिने भएकाले कांग्रेस या लोकतन्त्रका लागि पनि यो गठबन्धनका कारण कुनै असर नपर्ने देखिन्छ । संसारभरको राजनीतिक परिदृष्यले पनि यो कुराको पुष्टि गर्दछ ।