काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धमा बिहिबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गर्नुभएको हो । यस सम्झौता पश्चात हालसम्म सिमकार्ड नलिएका राष्ट्रिय वाणिज्य बैंकमा नयां खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमबाट उपलब्ध हुने जिएसएम सिमकार्ड निशुल्क रुपमा उपलब्ध गराउने छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सहकार्यले प्रतिस्पर्धी रुपमा सेवा प्रदान गर्न थप उर्जा मिल्ने बताउनुभयो । उहाँले आगामी दिनमा दुई ठूला सरकारी संस्थाहरुले अन्य क्षेत्रमा पनि सहकार्य गरेर जान सकिने बिचार ब्यक्त गर्नुभयो । नेपाल दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दुबै संस्थाको यो ब्यवसायिक सहकार्यबाट समाजलाई फाईदा पुग्ने विचार राख्नुभयो ।
उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा कम्पनी सचिव भोलानाथ पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।
समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, नेपाल दूरसंचार कम्पनी लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत गोकर्णप्रसाद सिटौला, प्रमुख वित्तीय अधिकृत प्रदिपराज उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।