प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुदै , केही दिन अस्पतालमै बस्ने

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुदै , केही दिन अस्पतालमै बस्ने

काठमाडौं, ११ मंसिर । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य हिजोको भन्दा सुधार हुँदै गएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा हिजो प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् ।

मंगलबार सबेरै पेट दुखेपछि प्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएको थियो । चिकित्सकहरुले परीक्षण गर्दा एपेन्डिसाइटिस भएको थाहा भएको थियो । एपेन्डिसाइटिस फुटिसकेकाले तत्कालै अप्रेसन गरिएको थियो ।

पौने १ बजे डाक्टर रमेश सिंह भण्डारीले एपेन्डिसाइटिसको अप्रेसन गर्नुभएको हो । अप्रेसनपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएको थियो ।

अस्पतालले मंगलबार प्रधानमन्त्रीको स्वास्थ्यबारे दुई पटक प्रेस नोट जारी गरेको छ । जसमा एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) देखिएपछि तत्काल ‘ल्याप्रोटोमी’ विधिबाट शल्यक्रिया गरिएको उल्लेख गरिएको छ । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीको शरीरको प्रतिरोधात्मक क्षमता कम छ । त्यसैले उहाँलाई चाँडै ‘इन्फेक्सन’ हुन्छ । चिकित्सकहरुका अनुसार एपेन्डिक्स फुटेर सामान्य मानिसलाई पनि पेटमा ‘इन्फेक्सन’ हुन्छ र समयमा उपचार नभए त्यो रगतमा सर्न सक्छ ।