

काठमाडौँ, १० मङ्सिर।राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य विनयकुमार कसजूको आज निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कसजूको आज दिउँसो निधन भएको हो ।
मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनुभएका उहाँ गत कात्तिक १९ गते अस्पताल भर्ना हुनुभएको थियो । गुल्मीको रिडीमा २००४ सालमा जन्मिनुभएका कसजूका श्रीमती र तीन छोरा हुनुहुन्छ । उहाँका दुई सयभन्दा बढी बालकथा प्रकाशित छन् ।
नेपालको ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता कसजूले देउराली पत्रिका प्रकाशनसमेत गर्नुभएको थियो । कसजूले बालबालिकालाई कविता र कथा लेख्न सिकाउनुभएको थियो ।