बालाचतुर्दशीः आज दिवङ्गत पितृका नाममा दीपदान गरिँदै

बालाचतुर्दशीः आज दिवङ्गत पितृका नाममा दीपदान गरिँदै

काठमाडौं, ८ मंसिर । बालाचतुर्दशीअन्तर्गत आज दिवङ्गत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।

प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको छ ।

त्रयोदशीको दिन साँझ दीपदान गरेर उनीहरु रातभर भजनकीर्तन गरी जाग्राम बस्छन् भने भोलिपल्ट चतुर्दशीको दिन आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् ।

पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो मिसाएर छर्ने गरिए पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने बताउनुहुन्छ ।