निर्माण व्यवसायी महासंघले आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने

निर्माण व्यवसायी महासंघले आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने

काठमाडाैं, ७ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधनको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।

सरकारसँग पटक–पटक वार्ता भएपनि कुनै सुनुवाइ नभएकाले आन्दोलनमा जान बाध्य भएको महासंघको भनाइ छ । शनिबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै अब आन्दोलनको विकल्प नभएको बताउनुभयो । उहाँले सरकारले समयमै बजेट निकासा नगर्दा कतिपय आयोजनाहरु अलपत्र अवस्थामा रहेको जिकिर समेत गर्नुभयो । निर्माणकार्य समयमै सम्पन्न नहुनुमा सरकारी पक्षको कमजोरी देखिएपनि आफूहरुमाथि चौतर्फी आक्रमण हुनु दुःखद् भएको उहाँको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएपछि निर्माण व्यवसायीहरुले आफ्ना माग पूरा गर्न दबाब दिन सुरु गरेका छन् । तर, समयमै आयोजनाहरु सम्पन्न नगरी चरम लापरबाही गरेको भन्दै जनस्तरबाटै निर्माण व्यवसायीहरुको चर्को आलोचना हुने गरेको छ ।