काठमाडाैं, ७ मंसिर । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको रकम अपचलन गरेको अभियोगमा बैंकर पवनकुमार कार्की इन्टरपोलको रेडकर्नर नोटिस जारी भएका आरोपित हुन्। उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। ०७२ मंसिरमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो।
चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्ध मानव तस्करी अभियोगमा ०७६ वैशाखमा रेडकर्नर नोटिस जारी भएपछि अध्यागमनले पनि उनलाई कालोसूचीमा राखेको छ। वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरणमा संलग्न केशव दर्लामी मगर ११ वर्षदेखि फरार छन्। उनी इन्टरपोलका साथै अध्यागमनको पनि फरार सूचीमा छन्। ०६५ भदौमा उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो।
कार्की, गौतम र मगरसहित अध्यागमनले विभिन्न अपराध अभियोगमा फरार र अनुसन्धानका क्रममा रहेका २ हजार ८ सय ६९ जनालाई कालोसूचीमा राखेको छ। उनीहरू नेपालबाट अर्को मुलुक जान नपाउने र विदेशबाट त्यस्ता व्यक्ति आएको जानकारी पाउनासाथ तत्काल पक्राउ गरिने विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए। ‘नेपालमा अपराध गरेर कानुनी दायरामा नआएकालाई अदालत, अख्तियार, प्रहरीलगायत निकायको पत्रपछि अध्यागमनले कालोसूचीमा राखेर निगरानी गर्छ,’ उनले भने, ‘अध्यागमन कानुन उल्लंघन गरेर देशनिकाला भएका कतिपय विदेशीलाई पनि निश्चित अवधिका लागि कालोसूचीमा राखिएको छ।’
अदालतबाट फैसला भइसकेका तथा अनुसन्धानका क्रममा फरार रहेका मानिसका नाममा जारी सयभन्दा बढी राहदानी रोक्का गरिएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बताए। ‘अदालतबाट दोषी ठहर भएपछि भागेका तथा अनुसन्धानकै क्रममा फरार १ सय १२ जनाका नाममा जारी राहदानीलाई कालोसूचीमा राखेका छौं,’ उनले भने, ‘कानुनी दायरामा नआएसम्म त्यस्ता व्यक्तिका नाममा जारी भएको राहदानी फुकुवा हुँदैन।’
अध्यागमनको कालोसूचीमा भएकामध्ये १० विदेशीसहित ६५ जना इन्टरपोलको फरार सूचीमा छन्। नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले २७ नेपाली र २ विदेशीलाई रेडकर्नर र २८ नेपाली र ८ विदेशीलाईडिफ्युजन नोटिस जारी गरेको छ। भक्तपुरको दुवाकोटस्थित इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख घूस लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक पनि अध्यागमनको कालोसूचीमा थिए। विशेष अदालतले उनलाई धरौटीमा छाडेपछि अध्यागमनले उनीमाथि लगाइएको कालोसूची हटाएको थियो।
हत्या, बलात्कार, ठगी, अपहरण, मानव तस्करी, आतंकवाद, लागूऔषध ओसारपसार, अन्तरदेशीय अपराधलगायत संगठित, आर्थिक र सामाजिक अपराधमा अदालतबाट दोषी ठहरिएका तथा अनुसन्धानका क्रममा भागेकाहरूलाई इन्टरपोलको सहयोगमा खोज्ने काम भइरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए। उनीहरूलाई खोज्न अध्यागमन विभागको समेत सहयोग लिइएको उनको भनाइ छ। याे खबर आजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ।