

काठमाडौं, ७ मंसिर । महिनौ अघिदेखि मन्त्रिपरिषद् पुनर्गठनको हल्ला चलेपनि गत बुधबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठनको सोंचलाई साकार पार्नु भएको छ । मन्त्रीपरिषद् पुनर्गठन गरेपछि नेकपाका शिर्ष नेताको ध्यान अब संघिय संसद अन्तर्गतको प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेमा केन्द्रीत हुन थालेको छ ।
पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार आरोपमा पदबाट हट्नुपरेपछि खाली रहेको सभामुख पद पूर्तिका लागि नेकपाले आन्तरिक तयारी थालेको स्रोतले बताएको छ ।
यसअघि तत्कालिन माओवादी पक्षबाट सभामुख बनेका महरा संसद सचिवालयका कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा कारागार चलान भएपछि अब कसलाई सभामुख बनाउने भन्नेमा नेकपाभित्र मतभेद छ । तत्कालिन माओवादी र एमाले पक्ष सभामुख पद आफ्नो पोल्टामा पार्ने दाउ खोजिरहेका छन् । त्यतिमात्र होइन आन्तरिक गुट भित्रको नेतृत्वले पनि आफ्नै खेमा भित्रबाटै सभामुख बनाउने खेलमा लागेको पछिल्लो परिवेशले प्रस्टाएको छ ।
सभामुख छनौटकालागि सबैभन्दा सकस त पूर्व एमालेका तर्फबाट उपसभामुख बन्नुभएकी डा.शिबमाया तुम्बाहाम्फेको विषय बनेको छ । उहाँलाई राजीनामा दिन नेकपाका नेताहरुले दबाब दिंदै आएका छन्, तर तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गर्दै आउनुभएको छ ।
तुम्बाहाम्फेलाई पार्टीका महिला नेताहरुले राजीनामा नदिन आग्रह गर्दै आएका छन् । तुम्बाहाम्फे स्वयम पनि राजीनामा दिने मूडमा देखिनुहुन्न । त्यसो त उहाँलाई मन्त्री पद दिएर उपसभामुखबाट राजीनामा गराउने कसरत नेकपा नेतृत्वले नगरेको होइन तर मन्त्री पदसंग उपसभामुख साट्ने नेकपाको प्रस्तावलाई तुम्बाहाम्फेले ठाडै अस्विकार गरेपछि नेकपामा सभामुख छनौंटको विषय जटिल बन्दै गएको हो । संविधानमा सभामुख र उपसभामुख एकै दलको हुन नसक्ने व्यवस्था भएकाले नेकपाले तुम्बाहाम्फेलाई राजीनामा गराएर उपसभामुख अर्को दललाइ दिने र सभामुखमा अर्को नेता लैजाने तयारी गरेको छ ।
तर उपसभामुखले स्वतः आफू सभामुख हुन पाउने आसय सहित राजीनामा नदिएपछि सभामुख छान्न नेकपालाई सकस परेको छ । अब, नेकपासँग अर्को दललाइ सभामुख पद दिने वा उपसभाुमख तुम्बाहाम्फेलाई सभामुख बनाइ उपसभामुख अर्को दललाइ दिने दुई बिकल्प मात्र छन् । तुम्बाहाम्फेलाई मनाउन सके नेकपालाई सरकार गठनमा सघाएको समाजवादी वा राजपालाई पनि सभामुख वा उपसभामुख दिन सक्ने सम्भावना रहेको छ ।
उपसभामुख तुम्बाहाम्फेले सभामुख पदमा आफैँ उपयुक्त उम्मेदवार रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– ‘मलाई पार्टीले नै जिम्मेवारीमा पठाएको हो, निर्णय मान्छु, तर अरुले गरेको गल्तीको सजाय मलाई दिने गरी राजीनामा दिन लगाएर जिम्मेवारीविहीन बनाउने वा अन्तै व्यवस्थापनको नाममा पद साटासाट गराउने काम नहोस् भनेर ध्यानाकर्षण गराउँछु ।’
संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । हाल संसद्मा चार राजनीतिक दलको मात्र प्रतिनिधित्व छ । सोही धाराको उपधारा ५ अनुसार सभामुख र उपसभामुख दुवै पद रिक्त भए प्रतिनिधिसभामा भएका सदस्यमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् ।
हाल सभामुखको पद मात्र रिक्त छ । तसर्थ सभामुखको मात्र निर्वाचन आवश्यक हो । तर, सभामुख र उपसभामुख बेग्लाबेग्लै दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले सभामुख पद गुम्न नदिन नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउन चाहेको छ । तुम्बाहाम्फेले राजीनामा नदिई सभामुखमा नेकपाले उम्मेदवारी दिन पाउँदैन । नेकपाबाट सभामुख निर्वाचित हुँदाको अवस्थामा सत्तारुढ दलहरूबीच समझदारी भए उपसभामुख पद संघीय समाजवादी फोरमले पाउने सम्भावना छ । अन्यथा विपक्षी कांग्रेस वा राजपाले यो पाउनेछन् ।