प्रधानमन्त्री देउवाद्धारा देशबासीलाई सम्बोधन गर्दै पदबाट राजीनामा

प्रधानमन्त्री देउवाद्धारा देशबासीलाई सम्बोधन गर्दै पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका छन्। बिहीबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै संविधान कार्यान्वयनका तीन चरणका निर्वाचन सफलता पूर्वक सम्पन्न गरेकोमा सबैलाई धन्यवाद दिए।
उनले तीन तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गरेको बताउँदै आजैका दिनदेखि पदबाट राजीनामा दिँदै नयाँ सरकार गठन प्रक्रियामा मार्ग खुलाएको बताए।

निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फ निर्वाचित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । यो प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिएका हुन् ।

सम्बोधन लगत्तै देउवा आफ्नो राजीनामा सम्बन्धी पत्र राष्ट्रपतिलाई बुझाउन शीतल निवास गएका छन् ।

देउवा गएको जेठ २३ गते नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो । देउवाले राजीनामा दिएपछि अब वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ ।

वि.सं. २०७० सालको संविधानसभाको निर्वाचनमा होमिदा नेपाली कांग्रेसका सामु एउटै विकल्प थियो, या त निर्वाचनमा जितेर सबै दललाई अगुवाई गरेर लोकतान्त्रिक संविधान निर्माण गर्ने । या त निर्वाचनमा कमजोर ठहरिए संविधान बन्दै नबने वा वामपन्थी ‘स्पिरिट’ को संविधान बन्ने अवस्थाको फड्के किनाराको साक्षी बस्ने । निर्वाचनमा कांग्रेसले आफूलाई जनप्रयि बनायो र सबैभन्दा ठूलो दल बन्न सक्यो । सुशील कोइरालाको नेतृत्वमा पुरानो साख फर्काएर कांग्रेसले कुनै घमण्ड गरेन, बरु सबै शक्तिलाई मिलाएर संविधान बनाउने प्रण गर्यो ।

मंसिरमा चुनाव जितेको कांग्रेसले सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार बनाउन माघ पर्खियो तर अहिले एमालेले देखाएजस्तो दम्भ देखाएन । सत्तामै रहेको एमाले मात्रै होइन विपक्षमा रहेर आन्दोलन चर्काइरहेका माओवादी र मधेशकेन्द्रीत दललाई समेत विश्वासमा लिने प्रयास सुशील कोइरालाले जारी राखे । फलस्वरुप २०७२ असोज ३ गते देशले संविधान पायो । संविधान निर्माणको यो सफल नेतृत्वको जस लिन कांग्रेसले कुनै तछाँडमछाँड गरेन बरु अपमानको विष पिएर संविधान निर्माणको हप्तादिनमा सुशिल कोइरालाले सरकारबाट बाहिरिनुप¥यो । सत्ता छाडेर संविधान रोजेको कांग्रेसले नै अन्ततः संविधानको सफल कार्यान्वयनलाई नेतृत्व प्रदान गरेको छ ।

नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण सबै कार्यभार पूरा गरेको छ । असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गर्नेदेखि प्रदेश र संघीय संसदको सफल निर्वाचन गराउन प्रधानमन्त्री देउवा सफल भएका छन् । ईतिहासमा निर्वाचन गराउन नसकेको आरोपमा राजाले पूर्वाग्रहीपूर्ण ढंगबाट ‘अक्षम’ घोषणा गरिएका देउवाले अन्ततः राजनीतिक जीवनको उतराद्र्धमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । जसरी नेपाली कांग्रेसका प्रत्येक सभापतिले मुलुकको जीवनमा महत्वपूर्ण अर्थ राख्ने विशेष काम गरेका छन्, देउवाले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

चौथौ पटक सरकारको नेतृत्व गरिरहेका देउवा सरकारबाट बाहिरिदै छन् । तर यसपटक विगतमा जस्तो कुनै आरोप वा कंलक देउवाको शिरमा छैन । यसपटक त उनी जनताले बनाएको संविधान सफल कार्यान्वयन गर्ने ‘राजनेता’ बनेका छन् । पार्टी हारको विषय समिक्षाका लागि खुल्ला नै रहनेछ तर मुलुक जिताउन देउवाले खेलेको भूमिका प्रसंशनीय नै छ ।

नेपाली कांग्रेसले आफूले गरेका सकरात्मक कामको जस लिन नसकेको आरोप लाग्दै आएको छ । सत्ताबाट बाहिरिएपछि यो कमजोरी सुधार्नु देउवाको महत्वपूर्ण दायित्व हुनेछ । त्यसमा कांग्रेसको नेतृत्व पंक्तिले देउवालाई सहयोग गर्नैपर्ने देखिन्छ । निर्वाचनबाट कांग्रेसको आकार निश्चय पनि खुम्चिएको छ तर लोकतान्त्रिक राजनीतिको कांग्रेस अभियान अझ विस्तारित हुँदैछ ।