डोटीमा चुनावी चहलपहल बढ्दै

डोटीमा चुनावी चहलपहल बढ्दै

–विमलबहादुर विष्ट

डोटी, २९ कात्तिक । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका राजनीतिक दलले उम्मेदवारी दर्ता गरेसँगै चुनावी चहलपहल बढाउन थालेका छन् । जिल्लाको आदर्श गाउँपालिका–२ मौवामा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

दुईवटै पार्टीबीच कडा प्रतिस्पर्धा हुने भएकाले उपनिर्वाचन क्षेत्रमा जिल्लादेखि केन्द्रीयस्तरका नेता सो क्षेत्रमा पार्टीका उम्मेदवारलाई मत माग्नका लागि चुनावी आमसभा र घरदैलो भेटघाट कार्यमा व्यस्त रहेका छन् । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो ।

उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट रामबहादुर बोहराले उम्मेदवारी दर्ता गर्नुभएको छ भने भने प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको तर्फबाट महादेव साउदले उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काशीराम ओझाले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै स्थानीय भूमिसिंह खड्काले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । खड्का पूर्वनेकपा निकट रहेको बताइएको छ ।

वडामा भएका शिक्षा, स्वास्थ्य, विद्युत् तथा खानेपानीको समस्या समाधानका लागि आफूहरुको उम्मेदवारी रहेको उम्मेदवारहरुले बताउँदै आएका छन् । उक्त वडामा सबैभन्दा बढी खानेपानी तथा विद्युत्को समस्या भएको र जुन उम्मेदवारले खानेपानी र विद्युत्को समस्या हल गर्ने लिखित प्रतिबद्धता दिन्छन् त्यसैलाई नै मत दिने वडावासीको माग रहेको स्थानीय डम्बरी भट्ट ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन उम्मेदवारले हाम्रा समस्या समाधान गर्छु भनेर लिखित प्रतिवद्धता गर्छ त्यसैलाई नै हाम्रो मत जाने छ, मुखले भनेको कुरामा हामी विश्वास गर्दैनौँ ।” पछिल्लो समय नेताहरुका उम्मेदवारी दर्तासँगै जिल्लाका राजनीतिक दलका शीर्ष नेताहरु आदर्श गाउँपालिका–२ मा केन्द्रित बनेका छन् । नेकपा तथा काङ्ग्रेसका शीर्ष नेता चुनावी आमसभा र मतदातासँग भेटघाट, छलफल र चुनावी मत सङ्कलन कार्यमा अहिले ब्यस्त रहेका छन् ।

मनोनयनअघिदेखि नै चुनाव जित्ने दौडमा रहेका डोटीका दुई ठूला दल नेकपा र काङ्ग्रेसले उम्मेदवारी दर्ताका क्रममा शक्ति प्रदर्शनसमेत गरेका थिए । दुवै दलका स्थानीयदेखि केन्द्रीय तहका नेता अहिले आदर्श गाउँपालिका पुगेका छन् । नेकपाका वर्तमान सुदूरपश्चिम प्रदेश सांसद अर्चना गहतराज, केन्द्रीय सदस्य तथा संविधानसभाका पूर्वसदस्य गौरी वली,संविधानसभाका पूर्वसदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हर्कबहादुर सिंह, प्रदेश कमिटी सदस्य एवं डोटी जिल्ला कमिटीका पूर्वअध्यक्ष नारद मलासी, वर्तमान पार्टी जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल, जिल्ला सचिव जङ्गबहादुर विकलगायतका नेता कार्यकर्ता आदर्श गाउँपालिका केन्द्रित हुनु भएको छ ।

पार्टीको तर्फबाट विजयी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल, आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकाया, बोगटान गाउँपालिकाका उपाध्यक्ष भगवती बमलगातयका जनप्रतिनिधि नेकपाका उम्मेदवारको प्रचारप्रसारमा आदर्श गाउँपालिका पुग्नुभएको छ ।

त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर, पार्टीका जिल्ला सभापति प्रदीप देउवा, सचिव नारायण जोशी, नेताहरु जीतबहादुर खड्का, विजय खड्कालगायतका नेता तथा कार्यकर्ता अहिले आदर्श गाउँपालिकामा केन्द्रित हुनुभएको छ । पार्टीकोतर्फबाट विजयी शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी, उपप्रमुख धौलीदेवी रावल, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलगायतका जनप्रतिनिधि पनि काङ्ग्रेस उम्मेदवारको प्रचारप्रसारमा गाउँमा जुट्नुभएको छ ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष अंकबहादुर खड्कालगायतका नेता पनि चुनाव प्रचारप्रसारमा आदर्श गाउँपालिका पुग्नुभएको छ । नेकपा र काङ्ग्रेसले बाजागाजासहितको प्रचारप्रसार गर्दै अहिले स्थानीयसँग गाउँमा भोट माग्न थालेका छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन उममेदवारदेखि नेता, कार्यकर्ता मतदाताको घरदैलोदेखि कार्यस्थलमा पुगी अनेक आश्वासन र प्रतिवद्धता देखाउने क्रमम बढेसँगै मतदातामा पनि चुनावी रौनकले छोएको छ । घरदेखि सार्वजनिक स्थल, चियापसल र मेलापातमा समेत आफ्नो अमूल्य मत कुन उम्मेदवारलाई दिने भन्ने विषयमा मतदाताहरु आपसी छलफलमा जुटेका छन् ।