सत्ताको आडमा नेकपाको दादागिरी, कांग्रेसको कोण सभा बिथोल्न खोजेपछि भाडभैलो

सत्ताको आडमा नेकपाको दादागिरी, कांग्रेसको कोण सभा बिथोल्न खोजेपछि भाडभैलो

-रामचन्द्र दुलाल-

सिन्धुपाल्चोक, २७ कार्तिक । प्रदेश नम्बर ३ को सिन्धुपाल्चोक जिल्लाको एक मात्र उपनिर्वाचन हुने निर्वाचन क्षेत्र इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ मा सत्ताको आडमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आफ्नो दादागिरी प्रदर्शन गरेको छ । नेकपाका कार्यकर्ताहरुले कांग्रेसको कोण सभा बिथोल्न खोजेपछि भाडभैलो भएको छ ।

आज उपनिर्वाचनका लागि विभिन्न दलहरुले आफ्नो मनोनयन दर्ता गरेपछि नेपाली काँग्रेसले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गरेको थियो । मनोनयन दर्तापछि कांग्रेसले कोणसभा आयोजना गर्यो । कोण सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सम्बोधन गर्दै हुनुहुन्थ्यो ।

नेकपाका नेता तथा कार्यकर्ताहरु पनि आफ्नो मनोनयन दर्ता गर्न बाजागाजा र झाकीका साथ मनोनयन स्थलमा पुगेका थिए । नेता बस्नेतले सम्वोधन गरिरहेकै बेला नेकपाका कार्यकर्ताहरुले होहल्ला गरेर कोणसभालाई विथोल्न प्रयास गरेको खबर छ । नेता बस्नेतले नेकपाका कार्यकर्ताहरुलाई बारम्बार प्रजातान्त्रिक ढंगले अघि बढ्न आग्रह गरिरहे पनि उनीहरुको सत्ताको दादागिरीले उग्ररुप लियो ।

नेकपाको कार्यकर्ताहरुले बस्नेतको कुरा सुन्दै नसुनी होहल्ला मच्चाए । सत्ताको आडमा दादागिरी देखाउन थालेपछि काँग्रेसका कार्यकर्ताहरु जवाफी कारबाहीमा उत्रिएको बताइएको छ । तर, काँग्रेसका कार्यकर्ताहरु नेता बस्नेतको आग्रहलाई स्विकार गर्दै झडपलाई थप उत्तेजक हुन रोकेका थिए । सुरक्षाका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको अनुरोधलाई कांग्रेस कार्यकर्ताहरुले स्विकार गरेर झडप हुनबाट रोकिएको राष्ट्रवाणीलाई खबर प्राप्त भएको छ ।

नेकपाबाट केदारनाथ आचार्य, नेपाली कांग्रेसबाट राले तामाङ अशोक, सघिंय समाजवादीबाट प्रकाश श्रेष्ठ, राप्रपाबाट रनबहादुर तामाङ र राप्रपा संयुक्तबाट ढकबहादुर श्रेष्ठले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकमा एक ठाउँमा मात्रै निर्वाचन हुने भएकोले केन्द्रीय तहका नेतादेखि जिल्ला, क्षेत्र र स्थानिय नेता तथा कार्यकर्ताहरु सवै चुनावी कार्यक्रममा होमिएका छन् ।

गत ०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा उक्त वडाबाट कांग्रेसका धनबहादुर श्रेष्ठ विजयी हुनु भएकाे थियाे । उहाँको गत वर्ष निधन भएपछि रिक्त वडाध्यक्षको पद रिक्त परेको थियो । पुरैजिल्लामा इन्द्रावती गाउँपालिकामा मात्र निर्वाचन हुने भएकाले निर्वाचन निकै रोमाञ्चक हुने देखिन्छ । यसअघि काँग्रेसले मात्र ७ मतको अन्तरले जितेको थियो । पुरै वडामा कुल १ हजार ४ सय मत रहेको छ ।