राजपुर , २७ कात्तिक । राजपुर बम विस्फोटको घटनामा जिल्ला अदालतमा विचाराधीन मुद्दाका साक्षीहरूले धम्कीका कारण बयान फेर्न थालेको पाइएको छ । ती साक्षीले कांग्रेस सांसद एवं पूर्वमन्त्री आफ्ताव आलम पक्षको धम्की तथा प्रलोभनका कारण आफूहरूले प्रहरीमा गरेको बयानको प्रतिकूल हुने गरी अदालतमा निवेदन दिएको स्विकारेका छन् । दुई साक्षीले दबाबमा बयान फेर्न खोजेको खुलिसकेको छ ।
गाउँलेकै धम्की
जिउँदै चिम्नी भट्टामा हालिएका भनिएका ओसी अख्तरकी श्रीमती आमना खातुनलाई गाउँलेले धम्क्याएर श्रीमान् विदेशमा छन् भन्न लगाई अदालतमा निवेदन दिन लगाएको पाइएको छ । आमनाका बुबा समसुल मियाँले प्रतिवादी आलमलाई बचाउन सिंगो गाउँ मिलेर बयान फेर्न लगाएको बताए । ‘म घरमा नभएका बेला छोरीलाई बयान फेरिएको कागजमा सही गर्न लगाएछन्,’ उनले भने ।
राजपुर बमकाण्डमा ज्वाइँ ओसीको मृत्यु भएको उनले बताए । श्रीमतीकै निवेदनका आधारमा ओसीको मृत्यु दर्ता प्रमाणपत्रसमेत बनिसकेको छ । यमुनामाई गाउँपालिकाले दिएको मृत्यु दर्ता प्रमाणपत्र लिन आमना आफैं गएकी थिइन् ।
इजलासमै गएर निवेदन
जिल्ला अदालत रौतहटको ४ नम्बर इजलासमा राजपुर बमकाण्डका आरोपित आलमविरुद्ध सोमबार थुनछेक बहस चलिरहँदा न्यायाधीश दीपक ढकालनजिक पुगेर कानुन व्यवसायी सुरेशप्रसाद श्रीवास्तवले एउटा कागज दिन खोज्दा न्यायाधीश ढकाल अकमकिए ।
त्यस बेला वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले आलमको पक्षमा बहस गरिरहेका थिए । उनले बहस रोके । बहस चलिरहेका बेला ल्याइएको कागजबारे इजलासले जिज्ञासा राख्यो । उनले भने, ‘घाइते भनिएका गौरीशंकर रामको निवेदन हो ।’ न्यायाधीश ढकालले ‘तल दर्ता गराउनुस्’ भनेर आदेश दिए ।
भारतको सितामढी बिहार घर भएका गौरीशंकर रामको बयान फेरिएको निवेदन बोकेर कानुन व्यवसायी श्रीवास्तव न्यायाधीश ढकालको इजलासमा पुगेका थिए । थुनछेक बहस चलिरहेका बेला सामान्यतया इजलासले सोझै पेस हुने निवेदन ‘स्वीकार’ गर्दैन । इजलासले बहस जारी राख्न आदेश दियो ।
विस्फोटमा घाइते भएका राम घटनाका प्रमुख साक्षीमध्ये पर्छन् । उनैले प्रहरीमा दिएको बयानको प्रतिकूल हुने गरी इजलासमा दिएको निवेदनले सबैलाई आश्चर्यमा पारेको हो । पछि निवेदनबारे सबैले जिज्ञासा राखेपछि उनले आलमका मानिसले अपहरण शैलीमा लगेर बयान फेर्न लगाएको बताएका छन् । घटनाको यथार्थ बताउँदा आफूले आलम पक्षका मानिसबाट धम्की र अपहरणको सिकार बन्नुपरेको उनको भनाइ छ ।
केही दिनअघि घरमा बसिरहेका बेला चार जना गाडी लिएर रामको घर पुगेका थिए । उनीहरूले ‘केही कुरा गर्नु छ’ भनी आफूलाई गाडीमा राखेर भारतकै सिमर लगेको उनको भनाइ छ । ‘आलमका मानिसले मलाई ४ दिनसम्म बन्धक बनाए । थर्काए र बयान फेर्न दबाब दिए । पैसाको लोभ पनि देखाए,’ उनले भने, ‘अदालतमा बाध्यतावश निवेदन दिएको हुँ । म स्टोभ पड्केर होइन, राजपुर घटनामै परेर घाइते भएको हुँ ।’
घटनाबारे सुनाउँदा उनी अहिले पनि डराउँछन् । आलमका मानिसले मोटरसाइकलमा राखेर रौतहट ल्याएका थिए । उनलाई बन्धक बनाई बयान फेर्ने सर्त राखियो । उनले सर्त कबुले । बयान फेरिएको कागजमा सही गर्न लगाएर अदालतमा लगे । उनको हस्ताक्षरयुक्त बयान फेरिएको कागजमा बम विस्फोट घटनाबारे थाहा नभएको उल्लेख छ । उनीहरूले अदालतमा गएर ‘बम विस्फोटमा नभई स्टोभ पड्केर घाइते भएको बयान दिनू’ भनेर सिकाएको खुलासा गरेका छन् । सोमबार दिउँसो मोटरसाइकलमा राखेर आफूलाई जिल्ला अदालतनजिक ल्याएर छाडिएको रामको भनाइ छ । ‘उनीहरूले मेरो आधार कार्ड पनि लगे । सितामढीबाट के–के कागज बनाएर ल्याए, मलाई थाहा छैन,’ रामले भने, ‘विस्फोटमा परेको होइन भनेर लेखिएको कागजमा हस्ताक्षर गराए ।’
रौटहट प्रहरीले राजपुर घटनाबारे आलम पक्षका व्यक्तिहरूले एकपछि अर्को साक्षीहरूलाई धम्क्याउन थालेको जानकारी दिएको छ । बम विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको झूटो विवरण लेखाई उनलाई त्रासमा सही गर्न लगाइएको खुलेको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटको घटनाका घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको र प्रमाण नष्ट गरेको आरोपमा कांग्रेस नेता आलम पक्राउ परेका हुन् । उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणका तीन कसुरमा मुद्दा चली थुनछेक बहस चलिरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।