बंगलादेशका राष्ट्रपति ४ दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति ४ दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं, २६ कार्तिक । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपालको ४ दिने औपचारिक राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद आजदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुनेछ ।

बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । उहाँको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई सजाइएको छ ।
राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको राजकीय सम्मानका साथ स्वागत गरिनेछ । विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी गरिरहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ । नेपाल बसाइका बेला उहाँले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उहाँसँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नुहुनेछ । त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उहाँले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।