उपनिर्वाचन २०७६ : राप्रपा चुनाव प्रचारप्रसारमा

उपनिर्वाचन २०७६ : राप्रपा चुनाव प्रचारप्रसारमा

पोखरा, २३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारीमा जुटेको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रोमबहादुर भण्डारीसहितको पार्टीका नेता तथा कार्यकर्ता सम्मिलित टोलीले आज पोखरा महानगरपालिका–११ काँहुडाँडा लगायतका स्थानमा घरदैलो कार्यक्रम गरेको छ । काहुँडाँडास्थित काहुँकोट देउराली मन्दिरमा पूजाआजा गरी शुरु गरीएका उक्त घरदैलोमा उम्मेदवार भण्डारीले हिन्दू राज्य स्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गर्नुभयो ।

चुनाव प्रचारप्रसार अभियानअन्तर्गत आजै फूलबारी, महेन्द्रपुल, रानीपौवाका साथै पोखरा महानगरपालिका–१७ का विभिन्न स्थानमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा उम्मेदवार भण्डारीले राष्ट्रिय मुद्दासहित हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, भष्ट्रचारमुक्त शासन व्यवस्थाका लागि पार्टीको चुनाव चिह्न गाईमा मतदान गर्न आग्रह गर्नुभयो । पार्टीले प्रचार अभियानलाई तीव्रताका साथ अघि बढाउने जानकारी दिँदै प्रचारप्रसार समिति संयोजक सूर्य बाँस्तोलाले आइतबार पोखरा महानगरका विभिन्न वडामा घरदैलो कार्यक्रम गरिने जानकारी दिनुभयो ।