कालापानी विवाद छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

कालापानी विवाद छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ, २३ कात्तिक । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वपक्षीय बैठक बोलाएका छन्।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको भन्दै चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्रीले त्यस विषयमा छलफल गर्न बैठक डाकेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार शनिबार दिउँसो ४ बजेका लागि वालुवाटारमा बैठक बोलाइएको छ।

नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएको भोलिपल्ट जवाफ फर्काउँदै भारत सरकारले नयाँ नक्सामा नेपाल-भारत सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेको छ ।